सुर्खेत, २७ बैशाख (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले सबैले हातेमालो गरेर कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन् ।
पछिल्लो समय संक्रमणको दर बढेपछि उनिहरुले सबैपक्ष एक भएर कोरोनाविरुद्धको लडाईमा लाग्नुपर्ने बेला आएको बताएका हुन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले संक्रमणको अवस्थालाई भयाभह हुन नदिन सबै क्षेत्रबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको बताएका छन् ।
सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका मधुरानी ढकालले ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई कोरोनाबाट जोगाउनुपर्ने भन्दै यसको लागि सजिलो माध्यमबाट सुचित गर्नुपर्नेमा जोड दिनुभयो ।
चिकित्सकहरुले पनि कोरोना संक्रमणबाट बचाउन आफुहरुलाई सबै पक्षबाट सहयोग चाहिएको बताएका छन् ।
प्रदेश अस्पताल कालागाउँमा कार्यरत कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले आफुहरुले ओभरलोड गर्नुपरेको भन्दै अन्य सामाजिक क्षेत्रबाट पनि सहयोग चाहिएको बताउनुभयो ।
उहाँले कोरोनाबाट बच्न सरकारले लागु गरेका स्वास्थ्य मापदण्ड अपनाउनसमेत उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्काले कर्णालीमा अहिले भेण्टीलेटर चलाउने जनशक्ती अभाव रहेको बताउँदै अक्सिजन, ल्याव लगायतको क्षमतामा वृद्धि गर्नुपर्ने बताउनुभयो ।
बेलैमा ध्यान दिन नसकेमा स्थिति नियन्त्रण गर्न समस्या हुने निर्देशक खड्काको भनाई छ ।