सुर्खेत, ३१ बैशाख (जागरण) । सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागू गर्दै कडाई गर्ने तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतकाअनुसार पर्सी विहानदेखि लागू हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागू गर्ने तयारी गरिएको हो । यसअघि लागू भएको निषेधाज्ञाको अन्तिम मिति भोली राती सकिदैछ ।
यसअघि लागू भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीय नागरिकले ख्याल ठट्टा गर्न थालेपछि अब लागू हुने निषेधाज्ञा अवधिमा प्रशासन थप कडाई गर्ने तयारीमा छ ।
कोरोना संक्रमणसँगै मृतक संख्या बढिरहे पनि स्थानीय नागरिकले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।
हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्री हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।
यस पटक फैलिएको कोरोना भाइरसलाई स्थानीय नागरिकले गत बर्ष जस्तो ख्याल ठट्टा ठानेर मापदण्ड उल्लंघन गर्दै गएको उहाँको भनाई छ ।
यस्तै रुकुम पश्चिममा पनि निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गत वैशाख २० गते विहानदेखि जारी निषेधाज्ञा जेठ ७ गते राति १२ बजेसम्मका लागि थप गरेको हो ।
अझै पनि कोरोना भाईरसको संक्रमण नियन्त्रणमा नरहेको भन्दै आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकको सिफारिसका आधारमा प्रशासनले निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको जनाएको छ ।
संक्रमण अझै पनि बढ्दो क्रममा रहेका कारण कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको आदेशमा भनिएको छ ।