सुर्खेत, १ जेठ (जागरण) ।
कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता तथा नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलले कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रदेश सरकार असक्ष भएको जिकिर गर्नुभएको छ ।
कर्णाली प्रदेश अस्पतालले ‘कोरोनाका बिरामी भर्ना गर्न नसक्ने’ भनी जारी गरेको सूचनालाई इंगित गर्दै कंडेलले अस्पतालले यस्तो सूचना जारी गर्नुले प्रदेश सरकारको असक्षमता प्रकट भएको जिकिर गर्नुभएको हो । ‘अहिले को महामारीको बिचमा अस्पताल लाई यस्तो सुचना सार्वजनिक गर्नु पर्ने स्थिति मा पुरयाउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो’ कंडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘प्रदेश सरकारसंग स्रोतको अभाब छैन । सघिय सरकारसंग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो । आफुसंग भएको स्रोतको पनि उचित परिचालन पनि गर्न नसक्ने,अरूको सहयोग पनि लिन नसक्ने भए पछि अनाहकमा जनताको ज्यान गईरहेको छ, अझै जाने कुरा अस्पताल ले प्रकाशित सुचना बाट सजिलै अनुमान लाउन सकिन्छ ।’ उहाँले प्रचारमुखी भन्दा पनि परिणाममुखी काम गर्न पनि सुझाव दिनुभएको छ । ‘अरूले सहयोग गर्ने हो,सुझाब दिने हो , ढंग जिम्मेवारी लिएका ब्यक्ति हरूले नै पुरयाउनु पर्छ’ उहाँले लेख्नुभएको छ,‘प्रचारमुखी भन्दा परिणाममुखी काम गरौ । पहिला महामारीबाट जनताको ज्यान जोगाऔँ ।अरू कुरा पछि गर्दै गरौला।’
अस्पतालले नेपालगञ्जबाट आपूर्ति हुनुपर्ने अक्सिजन आपूर्ति नभएकाले कोभिड सम्बन्धीका बिरामी भर्ना नलिने भनी हिजो सूचना टाँसेको छ ।