एमाले कर्णाली प्रदेश संसदीय दलद्वारा सरकारको ध्यानाकर्षण

सुर्खेत, १ जेठ (जागरण) ।
नेकपा एमाले कर्णाली प्रदेशसभा संसददीय दलले कोरोना भाइरस संक्रमितको उपचारका लागि व्यवस्थापन गर्न संघीय सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले संसदीय दलका नेता यामलाल कंडेलले आज एक विज्ञप्ति जारी गर्दै तत्कालिन र भविष्यमा आउनसक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्न ध्यानाकर्षण गराउनुभएको हो । ‘तत्कालीन र भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक सबै अस्पतालहरुमा अक्सिजनको पलान्टको स्थापना, आइसीयू र भेन्टीलेटरसहितका बेड, चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधीको उचित व्यवस्थापनमा लाग्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछौँ’ नेता कंडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै यसमा सहयोग गर्न संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला सबैमा विज्ञप्ति मार्फत आव्हान पनि गरिएको छ ।
प्रदेश सरकार मातहत रहेको कर्णालीको सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्ट हुदाहुदै पनि अक्सिजनको अभावमा थप विरामी भर्ना नलिने सूचना प्रकाशित हुनु दुखद भएको भन्दै त्यसले बाँकी जिल्ला अस्पतालहरुको अवस्था कस्तो होला, आफै अनुमान गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।
साथै एमाले संसदीय दलले कर्णाली प्रदेश सरकारसँग श्रोतको अभाब नभएको तथा संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व प्रदेश सरकारको नै भएकाले आफुसँग भएको स्रोतको उचित परिचालन गर्न नसक्ने, अरूको सहयोग पनि लिन नसकेकोले कर्णालीमा आजको परिस्थिति उत्पन्न भएको जिकिर गरेको छ ।