कोरोना संक्रमितको संख्या बढ्दै गर्दा कर्णालीका अधिकांश अस्पतालहरुमा अक्सिजन अभाव

नन्द कठायत ।
सुर्खेत, २ जेठ (जागरण) । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गर्दा कर्णाली प्रदेशका अधिकांश अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ ।
प्रदेशका कोरोना विशेष अस्पतालहरुमा हाल अक्सिजन चलाउनुपर्ने कोरोनाका बिरामी बढ्दै गर्दा र सहज रुपमा अक्सिजनको आपूर्ति हुन नसकेको सम्बन्धित अस्पतालले बताएका छन् ।
यस्तै अक्सिजनको अभाव भएको भन्दै कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको छ । प्रदेश अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डाक्टर डम्बर खड्काले सूचना जारी गरेर जानकारी दिनुभएको हो ।
प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । प्रदेश अस्पतालमा अहिले करिब ९० जनाको उपचार भइरहेको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाबाट समेत गम्भीर बिरामी प्रदेश अस्पतालमा रिफर हुने गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अहिले ३१ जना कोरोना संक्रममितको उपचार भइरहेको छ । ती मध्ये २७ जनालाई अक्सिजनमार्फत् र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल जुम्लामा एउटा अक्सिजन पलान्टमार्फत विरामीहरुलाई अक्सिजन दिने गरिएको र त्यो प्रर्याप्त नभएको अस्पतालले जनाएको छ । दुई सय वटा अक्सिजन सिलिन्डर भएपनि अधिकांस सिलिन्डर बाँकेको नेपालगञ्जबाट आपूर्ति नहुँदा समस्या भएको प्रतिष्ठानका निमित निर्देशक डाक्टर राजीव शाहले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
रुकुमपश्चिम, सल्यान तथा आसपासका संक्रमितहरुलाई उपचार गरिरहेको चौरजहारी सामुदायिक अस्पतालमा पनि अक्सिजन अभाव छ । अहिले अस्पतालले मध्यम खालका विरामीहरुलाई भर्ना गर्ने गरेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो ।
अक्सिजन लगाउन पनि पालो कुर्नुपर्ने अवस्था आउँदा र आन्तरिक उत्पादनले नधान्ने भएपछि बिरामीको उपचारमा निकै गाह्रो हुने गरेको अस्पतालहरुले बताएका छन् ।