स्वास्थ्य लक्षित बजेट विवरण पेश गर्न कर्णाली सरकारलाई लेखा समितिको निर्देशन

सुर्खेत, ६ जेठ (जागरण) । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि १० वटै जिल्लाका लागि छुट्याइएको बजेटको विवरण पेश गर्न निर्देशन दिएको छ ।
कोभिड १९ नियन्त्रणको लागि छुट्याइएको बजेटमा अनियमितता हुन थालेको समाचारहरु बाहिर आएपछि समितिले तिन दिनभित्र बजेट बिवरण पेश गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
बजेटको अवस्था र कुन जिल्लामा कती बजेट हो भन्ने विषयमा विवरण पेश गर्न भनिएको समितिका सभापती दिनबन्धु श्रेष्ठले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस्तै, अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको विषयमा सल्यान अस्पतालसँग खरिदसम्बन्धी कागजात समेत माग गरेको छ । समितिकाअनुसार सात दिन भित्र खरिदसम्बन्धी कागजात समितिलाई उपलव्ध गराउन भनिएको छ ।
आवश्यक छानविन गर्नुपर्ने देखेपछि सात दिनभित्र कागजात पठाउन निर्देशन दिएको समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले सल्यान अस्पतालका लागि अक्सिजन प्लान्ट राख्न विनियोजन गरेको बजेटबाट ठेकेदारले आफूखुसी अक्सिजन सिस्टम जेनेटर ल्याइदिएपछि खरिद प्रक्रियामा अनियमितता भएको हुन सक्नेतर्फ समितिले चासो देखाएको हो ।
उहाँका अनुसार कोरोना महामारी रोकथाम तथा उपचारका लागि जिल्लामा विनियोजित बजेटको खर्च विवरण पनि मन्त्रालयसँग मागिएको छ ।
अस्पतालका लागि खरिद गरिएको अक्सिजन सिस्टम जेनेटर खरिद सम्बन्धीका कागजात ७ दिनभित्र सचिवालयलमा पठाउँन पत्र भनिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुसमा अक्सिजन प्लान्ट जडानको लागि ४० लाखको टेन्डर आह्वान गरेको थियो ।
प्रतिस्पर्धी ३ कम्पनीमध्ये सुर्खेतस्थित ड्रागन मेडिकलले ३८ लाख ९९ हजारमा मेसिन खरिदको जिम्मा पाएको थियो । जडानसहित ५१ लाख लागतमा बनेको भनिएको अक्सिजन सिस्टम जेनेटर भएको भन्दै चिकित्सकसहित केही अगुवाहरुले सामाजिक सञ्जालमा समेत चर्को विरोध गरेका थिए ।