कोरोना संक्रमण फैलिन नदिन कर्णाली प्रदेशमा एक हजार क्षमताको होल्डिङ्ग सेन्टर

सुर्खेत, ६ जेठ (जागरण) । कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप फैलिन नदिन संघ सरकारले कर्णाली प्रदेशमा एक हजार क्षमताको होल्डिङ्ग सेन्टर तयार गर्ने भएको छ । प्रदेश बाहिरबाट भित्रिनेहरुको लागि होल्डिङ्ग सेन्टर तयार गर्न लागिएको हो ।
नेपाली सेनाले कर्णाली प्रदेशसहित सात वटै प्रदेशमा होल्डिङ्ग सेन्टर तयार गर्न थालेको संघ सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।
देशभरका सात प्रदेश र काठमाण्डौँमा थप एक स्थानमा गरी ८ वटा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले बताउनुभयो ।
होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र सेनाले निर्माण कार्य प्रारम्भसमेत गरिसकेको जानकारी दिनुभयो ।
अक्सिजन अभाव हटाउन सरकारले गरिरहेको कामको जानकारी गराउँदै उहाँले जनताको उपचार गर्ने कुरा, संक्रमणबाट जनतालाई बचाउने, जनताको जीवन रक्षा गर्ने कुरा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।