सीसीएमसी खारेज गर्न माओवादी केन्द्रकाे माग

काठमाण्डाै, ६ जेठ (जागरण) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । बिहीवार पेरिसडाँडामा रहेकाे केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काेराेना भाइरसकाे सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो ।

विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बताउनुभयो ।

माओवादी केन्द्रले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नहुने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाजसमेतकाे संलग्नतामा सर्वदलीय र सर्वपक्षीय समिति बनाउनुपर्ने पनि बताएको छ ।

नेता पुनले प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय समिति बनाएर त्यसले सबै जनशक्ति, राजनीतिक दल, वैज्ञानिक समुदाय, विज्ञ समुदाय, नागरिक समाजलगायतका सम्पूर्ण क्षेत्रलाई यसमा परिचालन गर्नुपर्ने बताउनुभयो ।