आइसोलेसन स्थापनामा कर्णालीका स्थानीय तहहरुको सक्रियता

सुर्खेत, ९ जेठ (जागरण) । कर्णाली प्रदेशका स्थानीय तहका सरकारहरुले कोरोना संक्रमित राख्ने आइसोलेसन बेड स्थापनामा तिव्रता दिएका छन् ।
दोश्रो चरणको कोरोना संक्रमण फैलिएसँगै कोभिडका जटिल खालका बिरामी राख्नको लागि आइसोलेसन स्थापना गर्न थालेका हुन् । सबैभन्दा पहिलो जनताको स्वास्थ्य भएको भन्दै उनिहरुले आइसोलेसन बेड स्थापना गरेको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको अक्सिजनसहितको आइसोलेसन स्थापना गरिएको भन्दै नगर उपप्रमुख मोहनमायाँ ढकालले वडासम्म पनि कोभिड १९ सँग लड्न मजुबुद बनाउने भिटामिन लगायतका सामग्री पर्याप्त मात्रामा पठाइएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
सल्यान बनगाड कुपेन्डे नगरपालिकाले पनि २४ शय्याको अक्सिजनसहितको आइसोलेसन स्थापना गरेको बताएको छ । नगर प्रमुख गोविन्द बहादुर पुनले बिरामीहरुको उपचारको लागि २४ घण्टा आठ जना चिकित्सक अटाइएको बताउनुभयो ।
दैलेखको नारायण नगरपालिका प्रमुख एवम नगरपालिका महासंघ कर्णालीका प्रदेश अध्यक्ष रत्न बहादुर खड्काले पनि कोरोना नियन्त्रणमा आफ्नो पालिकाले हदैसम्म प्रयास गरेको बताउनुभयो ।
उहाँले आफुहरुले प्रयास धेरै गरेको भएपनि माथिल्ला तहका सरकारहरुले वास्था नगरेको भन्दै प्रत्येक जिल्लामा ५० बेडको अक्सिजनससहितका आइशोलेसन बनाउन सहयोग गर्न माग गर्नभयो ।
यस्तै, अन्य स्थानीय तहहरुले पनि आफुहरुले कोरोना नियन्त्रणमा धेरै प्रयास गरेको भएपनि बजेट अभाव हुँदै आएको बताउदै आएका छन् । उनिहरुले संघिय सरकारले स्थानीय तहको खातामा सिधै बजेट हालिदिन माग समेत गरेका छन् ।