टेकराज केसी ।
सुर्खेत, १० जेठ । कर्णाली प्रदेशका स्थानीय सरकारहरुले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम र बजेट स्वास्थ्य क्षेत्रलाई केन्द्रीत गरेर ल्याउने तयारी गरेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार गाउँ वा नगरसभामार्फत् असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्ने भएकाले स्थानीय तहहरु त्यसको तयारीमा लागेका हुन् ।
अधिकांश गाउँपालिका र नगरपालिकाले हाल आफूहरु आगामी आर्थिक वर्षको लागि योजना छनौट प्रक्रिया शुरु गरिएको जनाएका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै जनप्रतिनिधिहरुले आउँदो आर्थिक बर्षको बजेट स्वास्थ्यमा केन्द्रित गरी ल्याउने तयारी भएको बताएका छन् ।
सल्यानको सारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले सबैभन्दा पहिले जनताको जीउधनको रक्षा हुनुपर्ने भन्दै त्यसमै केन्द्रीत भएर बजेट निर्माण हुने जानकारी दिनुभयो ।
उहाँले बस्तीस्तरको योजना छनौट गर्न वडाका जनप्रतिनिधिहरुको नेतृत्वमा शुरु गरिएको भन्दै स्वास्थ्यसँग सम्बन्धित विषयलाई धेरै प्राथमिकरण गरिने बताउनुभयो ।
दैलेखको भगवतीमाई गाउँपालिकाले पनि दुरी कायम गरी वस्तीस्तरका योजना छनौट शुरु गरिसकेको बताएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आउँदो बर्षको लागि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै रोजगारीको क्षेत्रलाई पनि ध्यान दिनेगरी बजेट निर्माण हुने बताउनुभयो ।
यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका पनि कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित बनेका क्षेत्रलाई माथी उठाउनेगरी बजेट निर्माण गरिने बताएको छ । नगरप्रमुख हस्त पुनले मजदुरी गर्ने वर्ग तथा अन्य क्षेत्रमा परेको प्रभावलाई कम गर्न नीति कार्यक्रम र बजेट निर्माण हुने जानकारी दिनुभयो ।
यसैबीच, प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनेगरी योजना छनौटहरु भइरहेको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि आफ्नो जम्मा बजेट एक अर्बभन्दा धेरै हुने बताएको छ । दोश्रो चरणको कोरोना संक्रमण फैलिएपछि तीनवटै तहका सरकारहरुले स्वास्थ्यमा विशेष जोड दिने बताएका छन् ।