मध्यपश्चिम विश्वविद्यालयका रोकिएका परीक्षाहरु स्थिति हेरेर संचालन गरिने

टेकराज केसी ।
सुर्खेत, १४ जेठ (जागरण) । मध्यपश्चिम विश्वविद्यालयले रोकिएका परीक्षाहरु स्थिति हेरेर संचालन गरिने भएको छ ।
कोरोना भाइरसको दोश्रो लहर फैलिएपछि विश्वविद्यालयका केही परीक्षाहरु संचालन हुन नसकेको बेला विश्वविद्यालयले स्थिति हेरेर परिक्षा संचालन गरिने बताएको हो ।
अधिकांश समेस्टेरको कोर्ष पुरा नभएको भन्दै सेमेस्टार प्रमोट गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गराउने र स्थिति सामान्य भएपछि परीक्षाहरु संचालन गरिने विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर आनन्द प्रसाद सुवेदीले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
पठनपाठन वैकल्पिक विधिबाट नै भइरहेको बताउँदै उहाँले परीक्षा कसरी लिने भन्ने विषयमा अहिलेसम्म निर्णय नभएको जानकारी दिनुभयो ।
गत साल विश्वविद्यालयले कोरोना संक्रमणका कारण अनलाइन माध्यमबाट परीक्षा संचालन गरेको थियो । तर त्यो परीक्षा पनि खासै प्रभावकारी नभएको भन्दै सुवेदीले सकभर भौतिक उपस्थितिमै परिक्षा संचालन गरिने जानकारी दिनुभयो ।
कोरोनाका कारण विश्वविद्यालयका केही परिक्षाहरु रोकिएका छन, भने अनलाइनबाट पठपाठन संचालन गरिएपनि सबै विद्यार्थीहरु ती कक्षाहरुमा सहभागि हुन सकेका छैनन् ।