प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु

काठमाण्डौ, १४ फागुन (जागरण) । प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सुनुवाइ सुरु भएको हो । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते दुवैको दाबी अस्वीकार गर्दै प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावकाे घोषणा गर्नुभएको थियो ।

दोस्रो पटक असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन भएको भन्दै विघटित प्रतिनिधि सभाका १४६ सांसदले संसद पुनःस्थापनालगायत मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रतिनिधि सभा पुनःस्थापनासहित उनीहरुले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ ।

अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले हिजो संवैधानिक इजलासमै पठाउने आदेश दिएको थियो ।