कर्णाली सरकारले घोषणा गरेको वर्षदिन पछि पर्वतीय विश्वविद्यालयको प्रक्रिया अघि बढ्यो

नन्द कठायत ।
सुर्खेत, १५ जेठ (जागरण) । घोषणा गरेको लामो समयपछि कर्णाली प्रदेश सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएको छ ।
चालू आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै गर्दा करिव एक वर्ष पहिलो घोषणा गरिएको विश्वविद्यालय स्थापनाको प्रक्रिया केहिदिन अघि मात्र सुरु गरिएको हो ।
प्रदेश सरकारको सामाजिक मन्त्रालयको तर्फबाट तत्कालिन सामाजिक विकासमन्त्री विमला केसीले पर्वतीय विश्वविद्यालय स्थापनासम्बन्धि विधेयक प्रदेशसभामा टेबल गराउनुभएको हो ।
विधेयक पास भएर ऐन र निमावली बनेपछि मात्र कार्यान्वयको प्रक्रिया अगाडि बढाउने सामाजिक मन्त्रालयका उपसचिव जवारलाल हमालले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँले कर्णालीका सबै क्षेत्रका कृषि, वन, जडीबुटी, उर्जा, पर्यटन र जैविक विविधतालगायत अन्य प्राकृतिक स्रोत साधनहरुसँग सम्बन्धित विषयको एकीकृतरुपमा अध्यापन र अनुसन्धान गर्न पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न लागिएको बताउनुभयो ।
कर्णाली प्रदेशको जैविक विविधताको संरक्षण, सम्बद्र्धन र पर्वतीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले जैविक विविधता र प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोग गदैसमय अनूसारको दक्ष जनशक्ति उत्पादन गर्न मुख्य उद्देश्य रहेकोे उपसचिप हमालले बताउनुभयो ।
प्रदेशमा रहेका विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरु समेटन नसकिएका कुरालाई विशेष जोडदिइ अनुसन्धान हुने उहाँको भनाई छ ।