सुर्खेत, १५ जेठ (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ पातालगंगा गाउँमा डिप बोरिङ खन्दा वरपर रहेका खानेपानीका कुवा सुक्न थालेका छन् ।
कुवा सुक्न थालेपछि स्थानिय नागरिकले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण समेत गराएका छन् ।
स्थानीय नागरिकले प्रशासनमा विज्ञप्ती बुझाउँदै हचुवाको भरमा बोरिङ खन्दा बर्षौदेखि प्रयोग भइरहेका कुवा सुक्न थालेको भन्दै आक्रोष जनाइएको छ ।
पातालगंगा गाउँका करिव ८० घरपरिवारले प्रयोग गर्दै आइरहेको ठूलो कुवा नजिकै बोरिङ खन्दा खानेपानी सुक्न थालेको हो ।
बोरिङ खन्न थालेपछि पातालगंगा आसपासका जलासय तथा इनारहरु पनि सुक्न थालेको स्थानिय टोम बहादुर चौधरीले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले दुइचार जना व्यक्तीलाई लाभ पुग्नेगरी गाउँलेलाई जानकारी नै नदिएर उपभोक्ता समिति बनाएर बोरिङ खन्ने काम भएको बताउनुभयो ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशको सिंचाई आयोजनाअन्तर्गत गणेशजल कृषि आत्मनिर्भर समुह मार्फत डिप बोरिङ खन्न सुरु गरिएको स्थानीयले बताएका छन ।
व्यक्तीगत जग्गामा सरकारी बजेट प्रयोग गर्ने र वातावरणीय प्रभाव मुल्याकंन नगरी काम गर्दा यस्तो समस्या आएको स्थानीय नागरिकको गुनासो छ ।
यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने त्यस विषयमा अध्ययन गरेर मात्र कारवाही प्रक्रिया अगाडी बढाइने बताएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले त्यस विषयमा अध्ययन गरेर वास्तविकता बुझेर अगाडी बढ्ने कर्णाली रैबारलाई बताउनुभयो ।