नक्कली बिवाह दर्ता प्रमाण पत्र दिने वडा अध्यक्ष पक्राउ

सुर्खेत, १५ जेठ (जागरण) । नक्कली विवाह दर्ता गराएको भन्दै सुर्खेतका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अम्मरबहादुर चन्दलाई पक्राउ गरिएको हो ।
चन्दलाई नक्कली बिवाह दर्ता गरेको अभियोगमा अदालतको आदेशमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अवलचिङ्गका प्रमुख प्रहरी नायव निरिक्षक टेक बहादुर पालले जनाकारी दिनुभयो ।
वडाध्यक्ष चन्दले बसाइसराइँ गरेर अन्तै गइसकेको व्यक्तिलाई नक्कली विवाह दर्ता गराइदिएको आरोपमा यसअघि नै उजुरी परेको थियो ।
सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–४ मा बस्दै आएका ५७ वर्षीय भीमबहादुर बुढाको चिङ्गाड गाँउपालिका–४ का वडाध्यक्षको सिफारिसमा दोस्रो विवाह दर्ता गरिएको हो ।

बहुबिवाह गरेका बुढाले श्रीमती तिलसरी वली (गुर्भाकोट नगरपालिका वडा नं. १) संग विवाह गरेको भन्दै २०७६ माघ ४ गते नक्कली विवाह दर्ता गराएका थिए ।

उनले कान्छी श्रीमतीसँग ०७४ भदौ १९ गते विवाह भएको भन्दै विवाह दर्तामा उल्लेख गरिएको छ । तर सो विवाह दर्ता वडा कार्यालयको रजिस्ट्रारको अभिलेखमा छैन । विहे दर्ता प्रमाणपत्रमा दर्ता नम्बर १५६ उल्लेख गरिएको छ । तर वडा कार्यालयको रजिस्ट्रारको अभिलेखमा भने ०७६ सालमा १ सय १३ वटा मात्र भएको देखिएको छ ।

बुढाले यसअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पहिलो श्रीमती गीता कुमारी बिसीसँग ०७१ साल जेठ ६ गते विवाह दर्ता गराएका थिए । पहिलो श्रीमतीसँग सामाजिक परम्परा अनुसार २०५८ साल मंसिर १२ गते मागी विवाह भएको हो । जेठी श्रीमती गीताले जिल्ला प्रहरी कार्यालयमा बहुविवाह मुद्दा हालेपछि बिसीसँगै कान्छी श्रीमती अहिले जेल चलान भईसकेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तिले जानकारी दिनुभयो ।

पञ्जीकरणमा वडाध्यक्षको सिफारिस चल्ने भएकाले वडाध्यक्ष माथि अनुसन्धान गर्नुपर्ने भएकाले अदालतको आदेशमा प्रहरीले प्रक्राउ गरेको डिएसपी घर्तिको भनाई छ । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको घर्तीले बताउनुभयो ।