बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, अर्थमन्त्री पौडेलले ४ बजे आगामी आवको बजेट सार्वजनिक गर्ने

काठमाडौं, १५ जेठ (जागरण) । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कार्यक्रमको नेपाल टेलिभिजनसहित विभिन्न संचारमाध्यमले प्रत्यक्ष प्रशारण गर्नेछन्।

शनिबार बिहान बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित गरेको छ।  बैठकले वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ ।बैठकले आर्थिक वर्ष ७८/७९ को बजेट अध्यादेश जारी गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बालुवाटार निकट स्रोतले जनाएको छ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन ।

अध्यादेशबाट ल्याउने बजेटमा विभिन्न भत्ता वृद्धि गर्ने भएको छ। प्रधानमन्त्री ओलीले यसअघि सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलब बढाउने घोषणा गरिसकेका छन्। यस्तै करको दरमा केही हेरफेर हुने जनाइएको छ।

प्रतिनिधि सभा विघटन भएकाले  सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।