कर्णाली प्रदेशसभामा आज प्रस्तुत हुने निती तथा कार्यक्रम प्रभावित हुने संकेत

सुर्खेत, २५ जेठ (जागरण) ।
कर्णाली प्रदेश सरकारले आज प्रदेश सभाका आगामी वर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गर्ने गृहकार्य गरेको छ । तर आज संसदमा प्रस्तुत गर्ने भनिएको निति तथा कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ । पदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक वर्ष २०७५/७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भनिएपनि हिजो प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सरकारले गरेका कामप्रति असन्तुष्टी जनाउँदै संसदमा अवरोध गरेपछि अन्यौल भएको हो । बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित छ ।
संसद चल्न सहज वातावरण गराउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससंग सरकारले छलफल गरिरहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदिय दलका नेता जीवनबहादुर शाही र नेकपाका सांसद यामलाल कंडेल छलफलमा जुटेका छन् । बिहान छलफलमा जुटेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । ‘मुख्यमन्त्री छलफलमा जुट्नु भएको छ । कुरा मिलेपछि आज पनि हुन सक्छ ढिला गरी भोलिसम्म निति तथा कार्यक्रम प्रस्तुत हुन्छ । ’ उहाँले भन्नुभयो, ‘संसद बैठकमा प्रतिपक्षले उठाएको मागमा विषयमा सम्बोधन गर्न प¥यो भने भोलि निति तथा कार्यक्रम ल्याउने पनि हुन सक्छ ।’
नेपाली काँग्रेसले तत्काल रातो किताब उपलब्ध गराउनुपर्ने र कर्णाली–रारा पर्यटन वर्षको खर्च सार्वजनिक नगरेसम्म संसद चल्न नदिने अडान राखेकोे छ । हिजोको बैठकमा नेपाली काँग्रेसका सांसदले सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको निति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा वेवास्ता गरेको, कर्णाली रारा पर्यटन वर्षको उद्घाटनका समयमा गरेको खर्च सार्वजनिक नगरेको र सरकार आफै मनपरी ढंगले अघि बढेको आरोप लगाउँदै पुराना हिसाबकिताब सार्जजनिक नभएसम्म संसद चल्न नदिने बताउँदै अवरोध गरेका थिए ।