कृषकहरुलाई भत्ता दिने कर्णाली प्रदेश सरकारको तयारी

टेकराज केसी ।
सुर्खेत, १९ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले कृषकहरुको लागि भत्ता दिने नीति ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षबाटै लागु हुनेगरी कृषक भत्ता दिने तयारी भएको सरकारले जनाएको हो ।
भुमी व्यवस्था कृषि, तथा सहकारी मन्त्रालयले यस विषयमा नीति कार्यक्रममै समेट्ने गरी छलफल अगाडी बढाएको छ ।
युवाहरुलाई कृषिमा आकर्षित गर्नका लागि भत्ताको व्यवस्था गर्न लागिएको भन्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले व्यवसायिक रुपमा कृषि र पशुपालन गर्न युवाहरुको आकर्षण बढ्ने कर्णाली रैबारलाई बताउनुभयो ।
मन्त्री शाहीले आफुले कृषिमा नयाँ आयाम ल्याउन खोजेको भन्दै कृषिमै जीवन बिताएका व्यक्तीहरुलाई पनि मासिक २ हजारसम्म भत्ताको व्यवस्था गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
कर्णाली प्रदेशमा विगतदेखि नै कृषि र पशुपालन क्षेत्रमा महत्वकांक्षी योजनाहरु बनाइए पनि ती योजनाहरुको कार्यान्वयन भने सुस्त छ ।
मन्त्री शाहीले भने आफु फरक योजनाका साथ अगाडी बढ्ने बताउँदै कर्णालीका सबै स्थानीय तहहरुमा कृषि ब्लक स्थापना गरिने जानकारी दिनुभयो ।
उहाँकाअनुसार आगामी आर्थिक बर्षमा कृषि क्षेत्रमा धेरै काम गर्ने योजना रहेको भन्दै कृषकहरुलाई उत्पादनमा सहयोग गर्न प्राविधिकहरु व्यवस्था गर्न लागिएको बताउनुभयो ।
त्यसको लागि करारमा दुई सय जना करारमा कृषि प्राविधिक भर्ना गरिने बताउनुभयो ।
फ्लोर क्रस गरेर मन्त्री बनेका शाहीलाई भने नेकपा एमालेले सांसद पदबाटै बर्खास्त गरिसकेको छ । संविधानअनुसार शाही ६ महिना मात्र मन्त्री हुन पाउनुहुन्छ ।