कर्णाली प्रदेशभर ५२ हजारभन्दा धेरै खाद्यन्न मौज्दात

सुर्खेत, १९ जेठ (जागरण) । कर्णाली प्रदेशभरी हाल प्रयाप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले अभाव टर्ने अपेक्षा गरिएको छ ।
सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार प्रदेशभर हाल ५२ हजार २ सय १६ क्विन्टल खाद्यान्न मौज्दात छ ।
लिमिटेडकाअनुसार सुर्खेतमा ३१ हजार ३ सय, दैलेखमा १ हजार ५ सय, जाजरकोटमा २ हजार ६ सय, कालीकोटमा १ हजार ७ सय र जुम्लामा १ हजार ३ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।
यसैबीच, निषेधाज्ञाको अवधिमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा करिव ८ हजार क्विन्टल खाद्यान्न ढुवानी भएको छ । कर्णालीका ६ जिल्लामा हाल खाद्यान्न ढुवानी भइरहेको कम्पनीका प्रबन्धक माधव मिश्रले बताउनुभयो ।
उहाँका अनुसार निषेधाज्ञा लागू भएदेखि हालसम्म कर्णालीका ६ जिल्लामा ८ हजार १ सय २१ क्विन्टल खाद्यान्न ढुवानी भएको छ । यस अवधिमा हुम्लामा सबैभन्दा धेरै ४ हजार ४ सय ९८ क्विन्टल चामल ढुवानी भएको छ ।
त्यस्तै मुगुमा १ हजार ६ सय १७, डोल्पामा १ हजार ४ सय ५४, जुम्लामा १ सय ७० तथा कालीकोट र दैलेखमा ९०÷९० क्विन्टल खाद्यान्न ढुवानी भएको हो । बाजुरास्थित कोल्टी डिपोमा पनि २ सय क्विन्टल खाद्यान्न ढुवानी गरिएको प्रबन्धक माधव मिश्रले बताउनुभयो ।
निषेधाज्ञाको अवधिमा ५ करोड ९ लाख रुपैयाँको खाद्यान्न ढुवानी भएको कम्पनीले जनाएको छ ।