सुआहारा परियोजनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत, १९ जेठ (जागरण) । पोषण सुधारका लागि काम गरिरहेको सुआहारा परियोजनाले कोभिड १९ नियन्त्रणको लागि कर्णाली प्रदेशका विभिन्न पालिका र प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विश्वमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड नियन्त्रणका लागि स्वस्थ्य सामाग्रीहरु विभिन्न जिल्ला अन्तर्गतका गाँउपालिका, नगरपालिका लगायत कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखालाई सहयोग गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनको लागि स्वास्थ्य कर्मचारीहरु र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पुग्ने गरी मास्क, सेनिटाइजर, पिपिइ सेट, सन्देशमूलक फ्लेयर वितरण गरिएको सुआहारा कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार यस अवधिमा सुआहारा कार्यक्रमवाट तिन सय ७३ वटा स्वास्थ्य संस्थाहरु र २७ सय ६५ महिला स्वास्थ्य स्वयम् सेविकाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
सुआहारा दोस्रो कार्यक्रमलाई विभिन्न जिल्लाहरुमा स्थानीय साझेदार संस्थाहरुले कार्यन्वयन गरिरहेका छन् जस अन्तर्गत सुर्खेत जिल्लामा स्थानीय साझेदार संस्था समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरिरहेको छ ।
सुर्खेतमा रहेका ९ सय ८७ स्वास्थ्य स्वयम्सेविकाहरु र ९५ वटा स्वास्थ्य संस्थाहरु सवैलाई पुग्ने गरी माक्स र सेनिटाइजर तथा प्रति पालिका ५÷५ वटा पिपिइ सेट उपलब्ध गराइएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक रेशम चन्दले बताउनुभयो ।
बन्दाबन्दीको अवधिमा सवै पपलिकाहरुसँगको समन्वयमा सुनौला हजार दिनका आमाहरु र तिनका परिवारका सदस्यहरु तथा कोभिड संक्रमित वा सम्भावित व्यक्तिहरुको घरमा फोनवाट पोषण, स्वास्थ्य, सरसफाई लगायत कोभिड संक्रमणवाट बच्न अपनाउनु पर्ने उपायहरु .बारे परामर्श गरिरहेको संयोजक चन्दको भनाई छ ।
निषेधाज्ञाको अवधिमा मात्र २४ सय ६१ घरधुरीमा फोन परामर्श गरिएको छ जसमध्ये ५ सय ८३ जना गर्भवती र ९ सय ७० जना दुइ वर्ष मूनिको बच्चाको आमाहरु रहेको उहाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका सुनौला हजार दिनका आमाहरु र तिनका परिवारका सदस्यहरुको पोषण अवस्थामा सुधार ल्याउन विभिन्न स्वास्थ्य र पोषण सम्बन्धी काम गरिरहेको सुआहारा दोस्रो कार्यक्रम अहिले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा यो कार्यक्रम संचालनमा रहेको छ ।