सल्यानमा सेनाद्वारा १५ दिनमै २५ बेडको आइसोलेसन निर्माण

सल्यान, २० जेठ (जागरण) । नेपाली सेनाले सल्यान अस्पताल हाताभित्र २५ बेडको आइसोलेसन भवन निर्माण गरी संचालनमा ल्याएको छ ।
कोरोना संक्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा सेनाले बनाएको २५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन भवन निर्माण गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन कृष्ण बस्नेतले बताउनुभयो ।
कोरोना संक्रमण फैलिँदै गएको र अस्पतालमा सीमित बेड हुँदा नगरपालिकाको समन्वयमा नयाँ भवनसहित २५ बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको उहाँको भनाई छ ।
प्राकृतिक प्रतिकूलता, निषेधाज्ञाका कारण सामान ढुवानीमा समस्या र कोरोना महामारीकै बीचमा १५ दिनको बीचमा आइसोलेसन, ३ शौचालय, एक बाथरुम निर्माण गरिएको बस्नेतले बताउनुभयो ।
सहसेनानी दीपक बुढाथोकीको कमान्डमा स्वास्थ्य मापदण्ड पालना गरी भवन निर्माण गरिएको बताउनुभयो ।
यसअघि १६ शय्याको आइसोलसेन रहेको अस्पतालमा थप २५ बेडको आइसोलेसन निर्माण भएसँगै संक्रमितलाई उपचारमा सहज हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो ।
बेडको अभावमा संक्रमितलाई आकस्मिक कक्षमा समेत राखेर उपचार गर्नुपर्ने बाध्यता थियो अब उक्त बाध्यता हट्ने उहाले बताउनुभयो ।
विश्वभर फैलिएको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर राखी नेपाली सेनाको समन्वयमा आइसोलेसन भवन निर्माण गरिएको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताउनुभयो ।
आइसोलेसन भवन निर्माण शारदा नगरपालिकाको १५ लाख र नेपाली सेनाको जनश्रम १० लाख गरी २५ लाख बराबरको लागतमा निर्माण भएको सल्यानका सामुदायिक रेडियोहरुले समाचार पठाएका छन् ।