कर्णाली रारा पर्यटन वर्षको उद्घाटनमा करिब ६४ लाख खर्च

सुर्खेत, २५ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा भएको खर्च सार्वजनिक गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोध गरेर दवाव दिएपछि प्रदेश सरकारले खर्चको विवरण आज सार्वजनिक गरेको हो ।
आज संसदमा सरकारका तर्फबाट जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षको उद्घाटनको क्रममा ६३ लाख ८१ हजार रुपैँया खर्च भएको छ ।
पर्यटन वर्षको उद्घाटनका लागि नेपाल पर्यटन बोर्डबाट १४ लाख सहयोग प्राप्त भएको र प्रदेश सरकारको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा अतिथिहरुलाई दिएको कर्णाली रारा पर्यटन वर्ष लेखिएको दिइएको झोलामा २ लाख खर्च र अतिथि र सहभागिको खाजा र खाना खर्चमा १७ लाख ४६ हजार एक सय २० रुपैयाँ खर्च भएको छ ।
यस्तै अतिथिले दिएको उपहारमा ५ लाख ५४ हजार तीन सय ७१ रुपैँया, पत्रकारहरुको बाटो खर्च र खाना खर्चको ६४ हजार ९ सय ७० र टेलिभिजनमा प्रचारप्रसार जिंगलमा ४ लाख १२ हजार ६ सय ८४, रेडियोहरुमा प्रचारप्रसारको जिंगलमा २ लाख ५८ हजार ३ सय ३८, प्रचा–पम्प्लेट पोष्टर, निमन्त्रणा कार्डलगायतमा २ लाख २७ हजार ३ सय ३८, हवाई भाडा १० लाख २९ हजार २ सय ६, स्थलगत यातायात खर्च ७६ हजार, स्थानीय तहको खर्चको लागि २ लाख खर्च भएको छ ।
मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रमका लागि ११ लाख ५० हजार २ सय, आवासका लागि ४ लाख ६२ हजार ७ सय ६८ रुपैयाँ खर्च भएको र मुगु जिल्ला समन्वय समितिलाई कार्यक्रमको स्थानीय तयारीका लागि २ लाख खर्च भएको योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनु भयो । उहाँले कर्णाली रारा पर्यटन वर्षमा प्रदेश सरकारले कुनै अनियमितता नगरेको भन्दै खर्च विवरण पादरर्शी राखेको बताउनुभयो ।
खर्चको विवरण सर्वजनिक गर्दै योजना मन्त्री ज्वालाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याउने तयारीले गर्दा आफुहरुले छिट्टै सार्वजनिक गर्न नसकिएको बताउनु भयो ।
उहाँले पर्यटन वर्ष सुरु भएदेखि कर्णाली प्रदेशमा पर्यटकहरुको संख्या पनि बढ्दै गएको बताउनु भयो । उहाँले पर्यटकहरुलाई कर्णालीका सबै पर्यटकिय स्थलहरुमा पु¥याउने लक्ष्य पुरा गर्ने पनि बताउनभयो ।

निति तथा कार्यक्रम प्रभावित
हिजो प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले संसद बैठक अवरुद्ध गरेपछि आज प्रस्तुत गरिने भनिएको निति तथा कार्यक्रम संसदमा प्रस्तुत भएन् ।
सरकारले प्रतिपक्षी दलका सांसदहरुको माग सम्बोधन गर्ने भएकाले रर हिजोको बैठकको कार्यसुचि बाँकी रहेकाले आज निति तथा कार्यक्रम नहुने भएको हो । आजको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक वर्ष २०७५÷७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्ने सुचि रहेको थियो ।
हिजो प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सरकारले गरेका कामप्रति असन्तुष्टी जनाउँदै चालु आर्थिक वर्षको लागि ल्याइएको बजेटको तत्तकाल रातो किताब उपलब्ध गराउनुपर्ने र कर्णाली रारा पर्यटन वर्षको खर्च सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै अवरोध गरेका थिए ।