राउटे बस्ती सिल गर्ने निर्णय

सुर्खेत, २४ जेठ (जागरुण) । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायको बस्ती सिल गरिएको छ । असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्ती सिल गरेको हो ।
बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।
राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो ।
बस्तीमा अन्य समुदायका नागरिकले घटना अन्त पु¥याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल गर्नुपरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको बताइएको छ । यही कारण आज (सोमबार) बिहानदेखि राउटे बस्ती कसैलाई प्रवेश गर्न नदिने प्रहरी खटिएको हो ।
हिजो मात्रै राउटे मुखिया सूर्यनारायण शाहीले राउटे समुदायको सुरक्षा माग गर्नुभएको थियो ।
उहाले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गर्नुभएको थियो ।
हिजोआज भाइरल हुने उद्देश्यले युट्युब, टिकटक फेसबुकलगायतका सामाजिक सञ्चालमा राउटेसँग तस्बिर र भिडियो लिनेहरुको भीडसमेत लाग्ने गरेको छ । यसैबीच, सुर्खेतका युवाले राउटे समुदायका लागि सहयोगको अपिल गर्दै अभियान चलाएका छन् ।
कर्णाली सरकारले राउटे बस्ती पूर्ण रुपमा सिल गरेका कारण उनीहरु खाद्यान्न जोहो गर्न बाहिर निस्कन नपाउने भएकाले सहयोग संकलन अभियान चलाइएको सुर्खेतका रमेशविक्रम हमालले बताउनुभयो ।