सुर्खेत, २५ जेठ (जागरण) ।
राउटे समुदायका युवतीमाथि भएको यौन दुव्र्यवहारको सुर्खेतस्थित विभिन्न संघसंस्थाहरुले विरोध गरेका छन् ।
साेमबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सुर्खेत गुर्भाकोटका केही युवाहरुले दुई राउटे युवतीलाई मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको घटनाको विरोध गर्दै कारवाहीको माग गरेका हुन् ।
विज्ञप्तिमा लोपोन्मुख समुदायमाथि युट्युव, टिकट बनाउने निहुँमा दुव्र्यवहार हुने गरेको पाइएकोले बाहिरी संसारबाट अलग रहेका राउटे युवतीलाई मदिरा खुवाएर अस्मितामाथि खेलवाड गरेकोमा त्यस्तो घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरिएको छ ।
त्यस्ता युट्युव र टिकटक बनाउनेहरुलाई उनीहरुको समुदायमा पूर्ण प्रतिवन्द लगाउन माग गर्दै विज्ञप्तिमा राउटे युवतीको जीवन रक्षाको माग गर्न र राउटे समुदायको संरक्षण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग अपिल गरिएको छ ।
मानवअधिकारका लागि एकल महिला समूह, आवाज संस्था, दलित महिला संघ, महिला मानवअधिकार रक्षक संजाल, नवज्योति केन्द्र, द्वन्द्वपीडित साझा चौतारी, सिमान्तकृत महिलाहरुको लागि महिला संस्था (वाम), समाज जागरण केन्द्र (स्याक) नेपाल, मानवअधिकार एलायन्स, सुन्दर नेपाल संस्था, संकल्प र इन्सेकले संयुक्त विज्ञप्ती निकालेर कारवाहीको माग गरेका हुन् ।