जाजरकोटमा फौजी किराको प्रकोप, किसान चिन्तित

कालि बहादुर नेपाली ।
जाजरकोट, २६ जेठ (जागरण) । जाजरकोटमा फौजी किराले मकै खेती नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
खेती नष्ट भएपछि यसवर्ष पनि किसान चिन्तित भएका हुन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ ।
कोरोनाको संक्रमण बढि रहेका बेला भेरी नगरपालिका २ तिमेलेका लगायत केही ठाउँमा फौजी किरा देखा परेको छ ।
कोरोनाका कारण बजारमा गएर औषधी किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । भर्खरै उम्रिएका मकैमा किराको प्रकोप झन बढी देखिएको छ ।
कृषकहरुले केही मात्रामा संकलन गरेका किराहरु र खेतवारीको अवलोकन गर्दा यी र यस्ता लक्षण भएका किराहरुले यो समयमा व्यापक रुपमा मकैवालीलाई नोक्सान पार्ने कृषि प्राविधिकहरु भनाई छ ।
किराहरु आफ्नो बारीमा देख्ने बित्तिकै कृषि प्राविधिक हरुलाई सम्पर्क गर्ने, सुरक्षित विषादीको प्रयोग गर्ने र खेतवारीको नियमित अवलोकन गरेर क्षतिको आकंलन गरि नियन्त्रणको लागि उपाय अपनाउने जस्ता कार्य गर्न उनिहरुले सुझाव दिएका छन ।
भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोट तथा नजिकैको एग्रोभेटहरुमा सम्पर्क गर्न नगरपालिकाले किसानहरुलाई आग्रह गरेको छ ।