कालीकोट, २६ जेठ (जागरण) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ ।
सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो ।
एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ ।
कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ ।
सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट आजसम्म तीन सय १३ कुइन्टल ३७ केजी चामल बिक्री भएको शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।
स्थानीय प्रशासनको सल्लाहमा सोमवारदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र चामल बिक्री गर्न थालिएको छ ।
खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धित वडाको सिफारिस र नागरिकताको आधारमा २५ किलोको एक बोरा चामल दिने गरेको छ ।
सरकारले छुटको घोषणा गरेपछि चामल लिनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
कम्पनीले २० प्रतिशत छुट गर्नुअघि २५ किलोको अरुवा मोटा चामल प्रति बोरा एक हजार एक सय ८७ रुपैयाँमा बिक्री गरिरहेको थियो ।