तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिसँगै सुचारु

सुर्खेत, २७ जेठ (जागरण) । तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिसँगै सुचारु भएको छ ।
प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।
सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले दुई बुँदे निर्णयसमेत भएको छ ।
सरकार पक्ष, र दलहरुबीच मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।