राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो हटाउन जिल्ला अदालत सुर्खेतको आदेश

सुर्खेत, ३० जेठ (जागरण) । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो हटाउन अदालतले आदेश दिएको छ ।
सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियोहरू युट्युव, सामाजिक संजाल तथा सञ्चार माध्यमबाट हटाउन आदेश दिएको हो ।
आरोपी विरुद्ध परेको करणीसम्बन्धी कसुर मुद्दामा शुक्रबार जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यस्तो आदेश दिएको हो ।
यौन दुर्व्यवहारका भिडियोहरू हटाउनका लागि जिल्ला प्रशासन कार्यालयल मार्फत गृह मन्त्रालयलाई सार्वजनिक सूचना जारी गर्न आदेश दिइएको छ ।
‘युट्युब लगायतका सामाजिक संजालमा राखिएका सामग्रीहरू हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ ।
यसर्थ संघीय गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीको लागि लेखि पठाउनु’ आदेशमा भनिएको छ ।
युट्युव तथा सामाजिक संजालबाट भिडियो नहटाउनेलाई प्रहरीले साइबर कानून अन्तर्गत कारबाही गर्नेछ ।
सामग्रीहरू हटाउने कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरेको छ ।
त्यस्तै, युट्युवबाट भिडियो नहटाउने च्यानलहरूलाई बन्द गर्नसमेत अदालतले आदेश दिएको छ ।
करणीजन्य अपराधका सामग्रीहरू गोप्य हुनुपर्नेमा पीडितको पहिचान खुलाएर भिडियोहरू सार्वजनिक भएपछि अदालतले यस्तो निर्देशन दिएको हो ।