कर्णालीकाे नीति तथा कार्यक्रम वितरणमुखि भएकाे प्रतिपक्षकाे भनाई, विकासमुखी बजेट ल्याउन सुझाव


सुर्खेत, ३० जेठ (जागरण) ।
कर्णाली प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन सुझाव दिएका छन् ।
कर्णाली प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार छलफलका क्रममा बोल्ने प्रदेशसभा सदस्यहरुले विगतमा नीति कार्यक्रम एउटा हुने र बजेटमा अर्कै कुरा आउने गरेको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याउन सुझाव दिएका हुन् । प्रदेशसभामा बोल्ने सत्ता पक्ष र प्रतिपक्ष दुबै तर्फका सदस्यहरुले विगतका बर्षहरुमा जस्तै नगरी नीति कार्यक्रम अनुसारकै बजेट ल्याउन सुझाव दिए । यस्तै प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बजेट वितरणमुखी र देखाउनका लागि ल्याइएको तर कार्यान्वयन हुनेमा शंका रहेको बताएका छन् ।
एमाले संसदीय दलका नेता यामलाल कंडेलले पुँजीगत विकास भन्दा वितरणमुखी कार्यक्रम धेरै ल्याइएको भन्दै बजेटमा विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ‘यो नीति तथा कार्यक्रम पुँजीगत विकासमा होइन भरन पोषणमा केन्द्रीत छ’ उहाँले भन्नुभयो ‘बजेट ल्याउदा चाँही त्यसलाई सच्याएर ल्याउनुहुनेछ ।’ पुँजीगत खर्च बढाएर आफ्नो आयस्रोत बढाउनमा ध्यान केन्द्रीत गर्नुपर्ने उहाँको सुझाव छ । विनियोजन विद्येयकमा राखिएका प्राथमिकता, सिद्धान्त र नीति भन्दा बाहिर गएर नीति तथा कार्यक्रम ल्याइएको कंडेलको भनाइ छ । नीति तथा कार्यक्रम वस्तुस्थितिसंग मिल्ने खालको नभएको भन्दै लोकप्रियताका लागि भन्दा कार्यान्वयन गर्ने खालका कार्यक्रम समेटेर बजेट ल्याउनुपर्ने कडंलले बताउनुभयो । एमालेकै सांसद पद्मा खड्काले वितरणमुखी र अनियमिता हुनसक्ने खालका कार्यक्रम ल्याएको भन्दै कार्यान्वयन गर्न सक्ने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । सांसद् पदम रोकायले वितरणमुखी, निर्वाचन र पार्टिमुखी तथा गुटखत योजना आउने संभावना देखिएका भन्दै यस्ता कार्यक्रम नल्याउन आग्रह गर्नुभएको छ ।
राप्रपा की एक मात्र सांसद शोशिला शाहीले वितरणमुखी नीति तथा कार्यक्रम ल्याएको भन्दै दीर्घकालिन विकास गर्ने खालको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । नेकपा माओवादी केन्द्रका सांसद ठम्मर बिष्टले यसअघि कार्यान्वयन सुरु नै नभएका कार्यक्रमलाई निरन्तरता दिइएको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । सांसदहरुले सांसदहरुले वितरण गर्ने गरि विगतका जनता सडक लगायतका कार्यक्रमलाई निरन्तरता दिन पनि माग गरेका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुबै तिरका सांसदहरुले यस्तो माग गरेका हुन् ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी बजेटमा समेट्नुपर्ने केही योजनाहरुको माग गर्दै मुख्यमन्त्रीलाई माग पत्र पेश गरेका छन् । नीति तथा कार्यक्रममाथि आज सोमबारको बैठकमा पनि छलफल गर्ने कार्यतालिका रहेको छ । प्रदेशसभा बैठक दिउसो २ बजे बोलाइएको छ ।