सुर्खेत, ३१ जेठ (जागरण) । सुर्खेतमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले केही खुकुलो बनाएर असार १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुने भन्दै उहाले अबको १० दिन निषेधाज्ञा जारी हुने बताउनुयो ।
उहाका अनुसार बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न पाइनेछ ।
यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
होटल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् । तर, होम डेलिभरी भने गर्न दिइने प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक भने कायमै राखिएको छ ।
सुर्खेतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गत वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गरेको हो ।