कर्णालीकाे राजनीतिमा नयाँ तरंग, एमाले संसदीय दलकाे बैठक जारी, ज्वाला पनि सहभागी

सुर्खेत, १ असार (जागरण) ।

नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे बैठकले कर्णाली प्रदेशकाे राजनीतिमा नयाँ तरंग ल्याएकाे छ ।

बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला सहभागी भएपछि कर्णालीकाे राजनीतिमा केही नयाँ ट्वीस्ट हुन सक्ने संकेत देखिएकाे हाे । ज्वालासहित एमाले चार सांसदले मुख्यमन्त्री शाहीकाे पक्षमा मतदान गरेर उनीकाे पद जाेगाइदिएका थिए । जस मध्य तीन जना अम्मरबहादुर थापा कुर्मराज शाही र नन्दसिह बुढा मन्त्री भएका छन् । सर्वाेच्वकाे आदेशपछि एमालेले उनीहरुलाई आफ्नाे दलकाे सांसदमा बहाली गरेकाे पत्र सभामुख राजबहादुर शाहीले हिजाे साेमबारकाे प्रदेशसभा बैठकमा पढेर सुनाउनुभएकाे थियाे ।

सरकारले प्रदेशसभामा पेश गरेकाे आगामी आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रममाथि छलफलका लागि भएकाे साेमबारकाे बैठकमा सभामुखले उक्त पत्र पढेपछि सुनाएपछि नीति तथा कार्यक्रम पारित नभइ आजसम्मका लागि बैठक स्थगित गरिएकाे छ । एमालेकाे फुटकाे फाइदा उठाउदै जाेगिएकाे माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वकाे सरकार एमालेका सांसद पुर्नबहालीले धर्मराएकाे छ । प्रदेशसभामा कायम रहेका ३९ जना प्रदेशसभा सदस्य मध्य सभामुखसहित एमालेका  २० जना सांसद छन भने प्रतिपक्षमै रहेकाे राप्रपाका १ तथा माओवादी केन्द्रका १२ र सत्ता साझेदार काँग्रेसका ६ जना सांसद रहेका छन् । यदि एमाले सांसद एक हुने हाे भने आज प्रदेशसभाबाट नीति तथा कार्यक्रम पारित हुनेछैन । ज्वाला संसदीय दलकाे बैठकमा उपस्थित हुनुले एमाले एक हुने संकेत दिएकाे छ । बैठकमा सहभागी सांसद शुशिल थापाले पनि त्यसकाे संकेत गर्नुभएकाे छ ।

“नेकपा एमाले संसदिय दलको बैठक दलका नेता माननीय यामलाल कंडेल को अध्यक्षता मा पाटिका नेता माननीय प्रकाश ज्वाला सहितको उपस्थिति मा सुरु भयको छ | यो एउटा महत्वपुर्ण बैठक हो | यो बैठक निरन्तर जारी छ आजको यो बैठक निकै महत्त्वपूर्ण र एैतिहासिक रहने छ” थापाले फेसबुकमा लेख्नुभएकाे छ ।

आजै प्रदेशसभामा प्रदेश सरकारले आगामी आ ब काे बजेट प्रस्तुत गर्दै छ । त्यस अघि नीति तथा कार्यक्रम पारित गर्नका लागि बैठक बस्नेछ । बैठक अहिले १ बजे का लागि बाेलाइएपनि सवा १ सम्म सुरु भएकाे छैन ।  नीति तथा कार्यक्रम पारित हुने नहुने कुराकाे छिनाेफानाे भने केही घण्टामै प्रदेशसभा बैठकबाट हुनेछ ।