सुर्खेत, ३ असार (जागरण) । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा कर्णालीका पाँच जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएको जनाएको हो ।
मन्त्रालयका अनुसार हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेखमा कोरोना संक्रमण दर बढेको छ ।
यी जिल्लामा उच्च सतर्कता अपनाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
यसैगरी कर्णालीका चार जिल्लासहित देशका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ ।
यस्तै, कर्णाली प्रदेशमा थप ३ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार थप तिन सय ११ जना संक्रमण मुक्त भएका हुन ।
भने ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ८५ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा ४२ जना र २६३ जनामा एन्टीजेन विधिबाट गरिएको परिक्षणमा ३५ जनामा संक्रमण पुष्टी भएको हो ।
प्रदेशभर थप ३ जनाको मृत्यु भएको छ ।
यस्तै, नेपालमा थप दुई हजार आठ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
आठ हजार ६ सय ८७ जनाको आरटी–पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, थप तीन हजार ८२ जनासहित अहिलेसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
यस्तै थप ५२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार पाँच सय ५८ पुगेको छ ।