लेखा अधिकृतसंगकाे विवादले मुगु अस्पतालकाे सेवा प्रभावित

बसन्त वागचन

मुगु, ४ असार (जागरण) ।

जिल्ला अस्पताल मुगुमा हिजाे बिहिबारदेखि आकस्मिक बाहेक अन्य सेवा ठप्प भएको छ।
जिल्ला अस्पताल मुगुमा कार्यरत एघार जना डाक्टर हरुले कार्यालयका लेखा अधिकृत सुरेश केसीले आफूहरुमाथी अपहेलना गरेको भन्दै हडताल गरेका हुन । केसीले एम्बुलेन्स मर्मत जेनेरेटर सेवा इ सि जि सेवा एक्सरे सेवा लगायत बिभिन्न अत्यावश्यक सेवाहरु समेत संचालनमा नआउँदासम्म पनि मर्मतका लागी बजेट ब्यबस्थापन नगर्नु औसधि खरिदमा समेत आफैले खरिद गरेको कारण हड्तालमा उत्रनु परेको डा कबिराज पौडेलले बताउनुभयो। पौडेलले आफूहरुलाई पटक पटक लेखा अधिकृत केसीले अपमान गरेको बताउनु भयो। त्यस्तै पौडेलले अस्पतालमा स्वास्थ्य सामाग्रीहरुको अभावका कारण सेवाग्राहीलाई सेवा दिन समेत अप्ठ्यारो परेको कारणले पनि यो अवस्था सृजना भयको बताउनु भयो ।
केसीको सरुवा नहुन्जेलसम्म आफूहरु काममा नफर्किने आन्दोलनरत डाक्टरहरुले बताएका छन । अबको ४८ घण्टाभित्र आफ्ना माग पूरा हुनुपर्ने भन्दै आज पनि डाक्टर हरु धर्नामा बसेका छन। उता करार कार्यालय सहयोगीहरुले पनि आज देखी काममा नजाने घोषणा गरेका छन।
आज करार कर्मचारी हरुले पनि आफ्ना विभिन्न माग राख्दै कार्यालय प्रमुख समक्ष बिज्ञप्ति पेस गर्दै काममा नजाने घोषणा गरेका छन । समान कामको समान ज्याला हुनु पर्ने अन्य कर्मचारीहरु र करार कर्मचारी हरुलाइ काममा समान ढंगले खटाइने तर ज्यालामा समान नभएको हुँदा आफ्ना माग पुरा नहुन्जेल सम्म काममा नफर्किने कर्मचारी सुर बहादुर मल्लले बताउनु भयो। कार्यालयका लेखा अधिकृत सुरेश केसी भने यो सबै आफू माथिको आरोप मात्र भएको बताउनु भएकाे छ । ‘म माथि लगाएका यी सबै आरोप मात्र हुन’  केसीले भन्नुभयाे’जे जति भन्नु भयो ती सबै कुरामा डाक्टर प्रशासन ब्यबस्थापन पक्ष सङ्ग छलफल गरेर मात्र काम गरेकाे छु।’
कार्यालयका निस्वास्थ्य सेवा ब्यबस्थापक करुणा भट्टराई भने आफू जिम्मेवारी समालेको पनि भर्खरै मात्र भएको आफुलाइ,पूर्ण रूपमा सबै विषय बस्तुमा जानकारी नभएको बताउनुहुन्छ ।  भट्टराईले आन्दाेलनरत पक्षका माग केहि पूरा हुने खालका र केही पुरा नहुने खालका रहेको भन्दै सहमति भएर काम सुचारु गर्ने यदि सहमति हुन नसके सम्बन्धित निकायलाई जानकारी गराउने बताउनु भयो।
यो संकटको बेला स्वास्थ्य सेवा जस्तो क्षेत्रमा यो अवस्था सृजना भै जनताको जनजीवन माथिको खेलबाड हुँदा समेत यहाँका सरोकार वाला निकाय भने मौन रहेका छन।