सुर्खेत, ७ असार (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएर आगामी बर्षको नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।
कोभिड १९ का कारण प्रभावित क्षेत्रलाई लयमा ल्याउनेगरी बजेट बिनियोजन गर्ने तयारी भएको हो ।
स्वास्थ्य क्षेत्रसँगै कृषि, पशुपालन र स्वरोजगारीमुखि तालिमलाई पनि महत्व दिनेगरी नीति कार्यक्र र बजेटको तयारी भइरहेको नगरप्रमुख देव कुमार सुवेदीले कर्णाली रैबारसँग भन्नुभयो ।
उहाले बालबालिका र अन्य क्षेत्रको लागि पनि नीति कार्यक्रम र बजेट केन्द्रीत हुने भन्दै अहिलेसम्म गरेका काम जनतालाई जानकारी समेत गराइने बताउनुभयो ।
यता, दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति कार्यक्रम र बजेटका सन्दर्भमा सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।
आज गाउँपालिका अध्यक्ष खेमराज ओलीले भर्चुअवल माध्यमबाट सरोकारवाला र पत्रकारहरुको सुझाव संकलन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै पत्रकारहरुले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटमा स्वास्थ्यसँगै कृषि शिक्षामा जोड दिन सुझाव दिएका छन ।
वीवीसी नेपाली सेवामा कार्यरत नेत्र केसीले नीति कार्यक्रमअनुसारकै बजेट बनाउन सुझाव दिनुभयो ।
उहाले आगामी बर्ष निर्वाचनको बर्ष पनि भएकाले अहिलेसम्म गरेका कार्यक्रमलाई दस्तावेजिकरण गरी जनताको माझमा पुर्याइनुपर्नेमा जोड दिनुभयो । पत्रकार गोविन्द केसीले कृषि क्षेत्रलाई महत्व दिएर बजेट बनाउन सुझाव दिनुभयो ।
यस्तै, पत्रकार टेकराज केसीले गाउँपालिकाले विगतमा गरेका केही कामहरु उदाहरणिय भएको भन्दै आगामी दिन प्रत्येक किसानको घरमा प्राविधिक पुग्ने जनशक्ती उत्पादन गर्न सुझाव दिनुभयो ।
उहाले गाउँपालिकामा भावी दिनमा खानेपानीको समस्या आउन सक्ने भन्दै यततर्फ गाउँपालिकाले वृहत योजना बनाउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
पत्रकार सीता ओलीले युवाहरुलाई कृषिमा आत्मनिर्भर हुने खालका योजना बनाउन सुझाव दिनुभयो । अर्का पत्रकार मधुवन वीसीले राउटेहरुको सुरक्षाको लागि गाउँपालिकाले योजना बनाउन सुझाव दिनुभयो ।
गाउँपालिका अध्यक्ष ओलीले सुझावका आधारमा नीति कार्यक्रम र बजेट बनाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।