विपत व्यवस्थापनका लागि पूर्व तयारी गर्न सरोकारवालाहरुको सुझाव

नन्द कठायत ।
सुर्खेत, ८ असार (जागरण) । विपत व्यवस्थापन लागि पूर्व तयारी थाल्नुपर्ने कर्णालीका सरोकारवालाहरुले जोड दिएका छन ।
विपत प्रतिकार्यका लागि स्थानीय र प्रदेश सरकारले पूर्व तयारी गर्दै हुन सक्ने जोखिम न्युनिकरणका लागि तयारी हुनुपर्ने सुझाव दिएका हुन ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनीहरुले मनसुन सुरुभएसँगै आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतलाई व्यवस्थापन गर्न विपत सम्बन्धि बनेको ऐनलाई तत्काल कार्यान्वयन गर्नुपर्ने सुभाव दिएका छन् ।
शसस्त्र प्रहरी बल व्यास क्याप गुटु सुर्खेतका इन्चार्ज एवम विपत व्यवस्थापनका लागि तयारीमा रहनुभएका पृथ्वी बहादुर बोगटीले आफुहरु आउन सक्ने विपत व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको भएपनि भौगोलिक विकट्ताले गर्दा समस्या भएको बताउनुभयो ।
उहाँले अहिले विपत प्रतिकार्य गर्न सशस्त्र प्रहरी बल माथिदेखि तलसम्म सक्रिय भइसकेको भएपनि उद्दारको लागि चाहिने स्रोत साधन प्रयाप्त नभएकाले स्थानीय र प्रदेश सरकारले यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
यसैगरी मध्यपश्चिम विश्वविद्यालयका साहयक डिन तथा डिआर नेपालका अध्यक्ष वीरेन्द्र खड्काले पनि तिन तहका सरकार विपत व्यावस्थापन तथा न्यूनीकरणमा नभएर राहतमा मात्रै सिमित भएको बताउनुभयो ।
उहाले तिनै तहका सरकारहरुले विपत सम्बन्धि ऐन बनाइ त्यसको कार्यान्वयमा लाग्नु पर्ने सुझाव दिनुभयो ।
यता, कर्णाली प्रदेश सरकारले भने विपत व्यवस्थापनसँगै आउन सक्ने सम्भावित जोखिम न्युनिकरणको लागि तयारी अवस्थामा रहेको बताएको छ ।
आन्तरिक मामिला मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा आफ्नो मातहतका सबै निकाय र संयन्त्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।