सुर्खेतमा चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु

सुर्खेत, २७ जेठ । (जागरण)
सुर्खेतमा चट्याङ लागेर दुई जना विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको चिङगाड गाउँपालिका ४ मा रहेको मालिका प्राथमीक विद्यालय धनापानी मटेलामा अध्ययनरत २ जना बालबालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षा २ मा अध्ययनरत ७ बर्षीया निर्मला चन्द र अमरबहादुर चन्दको मृत्यु भएको छ । कक्षा कोठामा पढिरहेको समयमा बिहान करिब साढे ११ बजे चट्याङ परेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी चट्याङ लागेर ९ जना घाइते भएका छन् । कक्षा ३ मा अध्ययनरत नौ वर्षकी लक्ष्मी चन्द, १० बर्षिय ताराकुमारी चन्द, कक्षा १ मा अध्ययनरत पाँच वर्षकी दुरपता चन्द, ७ बर्षिय शुरेश चन्द घाईते भएका छन् । त्यस्तै कक्षा २ मा अध्ययनरत ७ बर्षिय निर्मला चन्द, कक्षा १ मा अध्ययनरत मिना शाही, पाँच बर्षिया डिलसरा शाही, बिमला चन्द, र कार्यालय सहयोगी ३६ बर्षिया हरिबहादुर चन्द घाइते भएका छन् । उनीहरुको इलाका स्वास्थ्य चौकी मटेलामा उपचार भइरहेको छ । मृतक दुई जना विद्यार्थीहरुको शब पोष्टमार्टमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनरमा ल्याइएको जानकारी श्रेष्ठले दिएका छन् । कक्षा ३ सम्म मात्र पढाई हुने उक्त विद्यालयमा १ जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेका थिए ।