कालिकोटमा बनाइएका धर्मशाला भत्किन थालेपछि….

कालिकोट, १० असार (जागरण) । कालिकोटको प्रमुख पर्यटकिय तथा धार्मिक स्थल बडिमालिका मन्दिर दर्शन गर्न जाने सर्दालु तथा भक्तजनहरूको बस्नका लागि बनाइएका धर्मशाला भत्किएका छन् ।
निर्माण समयमा उपभोक्ता समितको लापरबाहीले गर्दा निर्माण सम्पन्न गरेको ६ महिना नबित्दै धर्मशाला भत्किएका हुन् ।
धर्मशाला निर्माण गर्दा प्राविधिक र निर्माण उपभोक्ता समितिको लापरबाहीले तथा टालटुल गरी बजेट निकासीको उपाए निकाल्दा धर्मशाला भत्किएको स्थानीयले बताएका छन् ।
पत्तागाडे स्थित ३० लाखमा बन्दै गरेको भवन बनेको तिन दिनमै भत्किएको थियो । पुनः निर्माण गरेपनि ६ महिना नबित्दै धार्मिक संरचना भत्किएका छन् ।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७६÷७७ मा कर्णाली प्रदेश सरकारको १ करोड ४५ लाख बजेट विनियोजन गरेको थियो ।
उक्त, बजेटलाई विभाजन गरी डिभिजन वन कार्यालय कालिकोटले त्रिवेणी पाटनमा ९० लाख, पत्तागाडेमा ३० लाख र गाइगौँड़ामा २५ लाखमा तीन धर्मशाला निर्माण गरेको थियो ।
त्यी सबै धर्मशाला बर्षा सुरुसँगै भत्किन सुरु भएका छन् । त्रिवेणी पाटनमा रहेको धर्मशाला आधा भत्किएको छ भने पत्तागाडेमा रहेको धर्मशाला पुर्णरुपमा भत्किसकेको छ ।
भत्किएका दुबै धर्मशाला शान्नी त्रिवेणी गाउँपालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरिएका हुन् ।
यता, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने धर्मशाला निर्माणको कुरालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको जानकारी दिएको छ ।