वीरेन्द्रनगरको बजेट साढे १ अर्ब, उप महानगरपालिका बनाउने याेजना


गोविन्द खत्री
सुर्खेत, १० असार ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्ष वर्ष २०७८÷७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६३५ बराबरको बजेट प्रस्ताव गरेको छ ।
नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा उपप्रमुख मोहनमाया ढकालले आगामी आर्थिक बर्षका लागि सो बजेट पेश गर्नुभएको हो । जसमा चालु खर्च तर्फ रु. १ अर्ब १३ करोड, १९ लाख २६ हजार र पुँजीगत तर्फ रु. ४३ करोड ३३ लाख ३६ हजार रहेको छ ।
आगामी आर्थिक वर्षमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने शसर्त तर्फका कार्यक्रम बाहेकको नगरकार्यपालिकाको बजेटबाट आर्थिक विकास तर्फ रु ४ करोड ८९ लाख ६३ हजार, सामाजिक विकासतर्फ १३ करोड, २४ लाख ७२ हजार ४७०, पूर्वाधार विकासतर्फ १८ करोड २२ लाख ७२ हजार ८६८ रुपैँया विनियोजन गरिएको छ । यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ रु २ करोड ५ लाख १३ हजार ४२० र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा रु ६ करोड, १८ लाख १६ हजार २६१ प्रस्ताव गरिएको छ ।
नगरसभामाले कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको वीरेन्द्रनगरलाई उप महानगरपालिकाको रुपमा घोषणाका प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।
वीरेन्द्रनगरले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै आगामी आर्थिक बर्षमा नगरपालिकाले लगाउने कुनै पनि करमा बृद्धि नगर्ने नीति लिएको छ । चालु आर्थिक बर्षका लागि स्वीकृत कर दस्तुरलाई नै निरन्तरता दिइने भएको छ । साथै करदाता र करको दायरा विस्तारको नीति तथा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को कारण अर्थतन्त्रमा परेको असरलाई मध्येनजर गर्दै करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुट एवंम सहुलियत दिने नीति लिईनेछ प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै नगर क्षेत्रमा कुनै पनि परिवारले जातिय छुवाछुत र विभेद गरिएको पाईएमा पिडितलाई कानूनी उपचारमा जानलाई नगरपालिकाले थप सहयोग गर्ने भएको छ । भने आर्थिक रुपले विपन्न तथा असहाय ब्यक्तिहरु, महिला, जेष्ठ नागरिक, अपांग लगायतलाई निःशूल्क कानूनी सहायताको ब्यवस्था गरिने भएको छ ।


एक घर एक महिला स्वरोजगार वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार नारा सहित महिला स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिईएको छ । नगरपालिकालाई सडक बालमुक्त नगर घोषणाका लागि विभिन्न संघसंस्थाहरुको समन्वयमा कार्यक्रमहरु सञ्चालनमा ल्याइने जनाइएको छ । जेष्ठ नागरिकहरुलाई प्रत्येक वडामा सुगर तथा प्रेसरको निशुल्क जाँचको ब्यवस्था सहित निशुल्क स्वास्थ्य शिविरको ब्यवस्था गर्ने नीति लिइएको छ । “छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी’’ कार्यक्रम सञ्चालन गर्ने र नगरपालिका, वडा कार्यालय र विद्यालयसँगको सहकार्यमा विपन्न अभिभाबकको लागि आयआर्जन कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
असहाय र अभिभावक विहिन बालबालिकाहरुको अभिभाबकत्व नगरपालिकाले नै लिनेछ र उक्त विद्यार्थीहरुको माद्यमिक तहसम्मको शिक्षा सुनिश्चित गरिने भएको छ ।
“म बनाउँछु मेरो विद्यालय“ कार्यक्रम सञ्चालन गरि विद्यालयमा मेरो एक दिन कार्यक्रम मार्फत विद्यालयको समग्र विकास, शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ सुधार गर्ने कार्यक्रम बनाएको छ । जस अन्तर्गत प्रत्येक महिनाको पहिलो हप्ता भित्र शिक्षकले उत्कृष्ट विद्यार्थी, विद्यालयले उत्कृष्ट शिक्षक र विव्यसले उत्कृष्ट अभिभाबक पहिचान गरी प्रोत्साहित गरिनेछ । कार्य सम्पादन स्थिति सूचकको आधारमा प्रधानाध्यापकहरुका लागि मासिक रुपमा प्रोत्साहन रकम प्रदान गरिनेछ । यस्तै माद्यमिक विद्यालयहरुमा खेलकुद शिक्षकको व्यवस्थापन गरी विद्यालय स्तरदेखि खेलकुदलाई प्रर्बद्धन गर्नुका साथै विद्यालयमा नृत्य शिक्षकको व्यवस्थापन गरी नृत्य र संगीतको विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ ।
नगरपालिकाले संचालन गर्ने पूर्वाधारका कामहरुको उपभोक्ता समितिमा अनिवार्य सहभागिता गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।
१५ शैय्याको अस्पताल गर्भवतीलाई निशुल्क एवंबुलेन्स सेवा
कटकुवा स्वास्थ्य संस्थाको भवनमा हालको कोभिड अस्पताललाई १५ शैयाको नगर अस्पताल सञ्चालन गरिने भएको छ ।
नगरवासी गर्भवती महिलाहरुलाई प्रसुति सेवा लिन स्वास्थ्य संस्थासम्म जानको लागि नगर एम्वुलेन्सद्धारा निशुल्क सेवा दिने भएको छ । भने अस्पताल सम्म जाँदा लाग्ने एम्बुलेन्स शुल्क पनि उपलब्ध गराउने भएको छ ।

यस्तै महिला स्वास्थ्य स्वंसेविकाहरुलाई नेपाल सरकारले उपलब्ध गराउने प्रोत्साहन रकम रु.१२ हजारमा नगरपालिकाबाट रु.१२ हजार थप गरी रु.२४ हजार पुर्यााइएको छ ।
गुरुयोजना निर्माण, डुवान क्षेत्रमा उद्धार र राहत सामग्री
पहिलो नगरसभाले नीतिगत रुपमा पास गरेको वीरेन्द्रनगरको विस्तारित क्षेत्रको गुरुयोजना निर्माण कार्यलाई आगामी आर्थिक बर्षमा सम्पन्न गर्ने योजना बनाएको छ ।
नगरपालिकाको सम्भावित डुवान क्षेत्रमा उद्धार तथा राहत सामग्री (लाईफ ज्याकेट, रबर बोट, आदि)को व्यवस्था गरिने भएको छ । यस्तै सुब्बाकुनादेखि फलांटेसम्म सहायक राजमार्ग (हर्टलाईन) को नक्साङ्कनलाई निरन्तरता दिंदै निर्माण प्रकृयालाई यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी थप ब्यवस्थापनको लागि प्रदेश सरकार र संघीय सरकार संग सहकार्य गर्ने भएको छ । नगर भित्रका १० लाख भन्दा ठूला पूर्वाधार विकासका आयोजनामा कम्तिमा ३ प्रतिशत रकम वातावरण संक्षणमा योगदान पुग्ने कार्य अनिवार्य गराउने गरी आयोजनाको डिजाइन स्टमेट गरि कार्यान्वयन गर्ने योजना अगाडी सारेको छ ।

नीति कार्यक्रम तथा बजेटकाे पूर्ण पाठ  Birendranagar Budget Bhasan 2078-079