सुर्खेत, ११ असार (जागरण)।
सुर्खेतको बराहताल गाउँपालिकाको गाउँसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिरस्कार गरेका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले चुनावलाई लक्षितगरी कार्यक्ता पाेस्ने बजेट बनाएकाे भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँसभा बहिस्कार गरेका हुन् । उनीहरु बिहीबार हिजाेकाे गाउँसभामा सहभागी भएनन् । ‘गाउँपालिका अध्यक्षले चुनाव लक्षितगरी आफूले बाँडफाँड गर्नेगरी धेरै बजेट राख्नुभएकोप्रति हामीले असमति जनाएका थियौँ’ वडा नं. १० का वडाध्यक्ष हरिलाल सलामीले भन्नुभयो,‘बहुमतको आधारमा निर्णय पारित गरेपछि हामी एमालेबाट निर्वाचित कोहीपनि गाउँसभा बैठकमा सहभागी भएनौँ ।’ सबै वडालाई विगतका बर्षहरुमा १ करोड विनियोजन गर्ने गरिएकोमा आगामी आर्थिक बर्षको बजेटमा ५० लाखका दरले दिने निर्णय गरिएको छ । वडालाई १ करोडका दरले बजेट विनियोजन गर्नुपर्ने र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफूले बाँड्नेगरी त्यतिधेरै बजेट राख्न नहुने माग आफूहरुले राखेको ७ नं. वडाका अध्यक्ष कुलबहादुर बुचा मगरले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माका अनुसार गाउँपालिका अध्यक्षले बाँड्फाँड गर्नेगरी २ करोड ४१ लाख र उपाध्यक्षले बाँडफाँड गर्नेगरी ३० लाख बजे विनियोजन गरिएको छ । एमालेबाट निर्वाचत जनप्रतिनिधिले वडामा एक एक करोड दिनुपर्ने माग गरेको तर प्रशासनिक खर्च बढेकाले ५०–५० लाख मात्र दिने निर्णय गरेका कारण असहमती जनाएको उपाध्यक्ष शर्माले बताउनुभयो ।
गाउँपालिकामा एमालेबाट जम्मा ३ वडाध्यक्षसहित १७ जना काँग्रेसका अध्यक्ष उपाध्यक्षसहित २२ र माओवादीबाट निर्वाचित १३ जना जनप्रतिनिधि छन् । काँग्रेसलाई माओवादीबाट निर्वाचित जनप्रतिनिधिले साथ दिएपछि कार्यपालिकाबाट बहुमतका आधारमा आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट पारित भएको थियो ।
संबैधानिक व्यवस्था अनुरुप असार १० गते गाउँसभामा बजेट प्रस्तुत गरिएको र एकालेबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफलगरी सहमतीमा आधारमा पारित गरिने उपाध्यक्ष शर्माले बताउनुभयो ।