गुराँस गाउँपालिकाको नीति कार्यक्रमः तेश्रो लिङ्गीलाई मासिक दुइ हजार भत्ता, डाक्टर पढ्नेलाई एघार लाख प्रोत्साहन

टेकराज केसी ।
सुर्खेत, ११ जेठ (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले तेस्रो लिङ्गीलाई मासिक भत्ता दिने भएको छ ।
आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम मार्फत गाउँपालिले तेश्रो लिङ्गीलाई मासिक दुइ हजार भत्ता दिने घोषणा गरेको हो ।
आठौ गाउँसभामा प्रस्तुत नीति कार्यक्रममा गाउँपालिकाभित्र रहेका तेस्रो लिङ्गीहरु अझै समाजको मुलधारमा आउन नसकेको भन्दै भत्ताको व्यवस्था गरिएको उल्लेख छ ।
यस्तै ‘मेरो छोरी जीवन भरी’ नयाँ कार्यक्रम गाउँपालिकाले ल्याएको छ । जसमा एक वा दुइवटा छोरीमै परिवार नियोजन गर्नेलाई पाँच हजार प्रोत्साहन भत्ता दिने बताइएको छ । यसले छोरी माथीको विभेद कम हुने गाउँपालिकाको दाबी छ ।
त्यसैगरी, डाक्टर पढ्नेलाई ११ लाख, इन्जिनियर, पाइलट र पिएचडी पढ्नेका लागि एक लाख प्रोत्साहन रकम दिने नीति लिइएको छ ।
भने कृषि उत्पादन बढाउन व्यावसायिक कृषक सहयोग र कृषक स्वयमसेवक परिचालन गर्ने कार्यक्रम बनाएको छ । असोजभित्र सबै घरमा विद्युत बालि सक्ने कार्यक्रममार्फत लक्ष्य लिएको छ ।
गुराँस गौरव मार्ग, गुराँस चक्रपथ, स्वासथ्य, शिक्षा, खानेपानी लगायतमा अधिल्लो आर्थिक बर्षका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बालबालिकाका लागि संचालन गरेको जिवन सुरक्षा कोषको विस्तार गर्ने, जोखिम वालवालिका कोष, गुराँस रोजगार कार्यदल कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
यसैबिच, गुराँस गाउँपालिकाले आगाी आर्थिक बर्ष २०७८/०७९ का लागि ५५ करोड १७ लाख ५४ हजारको बजेट प्रस्तुत गरेको छ ।
नीति कार्यक्रम गाउँसभाबाट पारित भएको छ भने बजेटमाथीको छलफल असार २८ गते हुने गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।