सुर्खेत, १२ असार (जागरण) । कर्णाली प्रदेशसभाका तीन जना सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तीन सांसद निलम्बनमा परेका हुन् ।
निलम्बनमा पर्नेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सचिवालयले उनीहरुलाई निलम्बन गरेको हो ।
‘एमाले संसदीय दल (कर्णाली प्रदेश)को बैठकको निर्णयअनुसार अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी गराइएको छ ।
यसअघि वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए । तर जेठ २६ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।
निलम्बनमा परेका थापा हाल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। पुनर्बहालीपछि एमालेले मन्त्रीहरु सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ ।
यस्तै, कर्णाली प्रदेशसभा बैठक भोली दिउँसो २ बजेको लागि बोलाइएको छ ।
नेकपा (एमाले)को अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक लगातार स्थिगित हुँदै आएको छ ।
एमालेका तीन मन्त्रीहरु (भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा) सरकारबाट फिर्ता नभएको भन्दै एमालेले हिजोको संसद बैठक अवरुद्ध पारेको थियो ।