सिर्जना बुढाथोकी ।
सुर्खेत, १२ असार (जगारण) । अब क्यान्सरको अप्रेसन कर्णाली प्रदेश अस्पताल सुर्खेतबाटै हुने भएको छ ।
प्रदेश अस्पतालमा यसअघि नै क्यान्सर रोग पत्ता लगाउने जाँच सुरु भएकाेमा जनशक्ति अभावका कारण निरन्तरता पाउन सकेकाे थिएन । जसले गर्दा विरामीहरु नेपालगञ्ज देखि अन्यत्र जानुपर्ने बाध्यता थियो ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले प्याथोलोजिष्ट डा. अस्पतालमा आएकाे र अब अस्पतालले क्यान्सर भए नभएको पत्ता लगाउने, र प्रदेश अस्पतालबाटै अप्रेसन गर्न सकिने बताउनुभयो ।
नेपाल सरकारले क्यान्सर लागेका विरामीहरुका लागि व्यहोर्ने एक लाख सम्मको उपचार खर्चका बारेमा सरकारसँग लविङ गर्न सुरु गरिएको पनि जानकारी दिनुभयो ।
क्यान्सरको उपचारका लागी बाहिर जानुपर्ने अवस्था खर्चिलो भएको बताउदै अब नागरिकले सेवा लिन पाउने र त्यसका लागी आवश्यक पर्ने उपकरणको पनि व्यवस्था गरिएको डाक्टर खड्काको भनाई छ ।
अस्पतालको संरचना निर्माण गर्ने, अस्पताललाई पाँच सय शैयाको बनाउनेगरी काम भइरहेको समेत उहाले बताउनुभयो ।
यसैबिच, प्रदेश अस्पताल सुर्खेतलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
काँग्रेस महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको पहलमा सुर्खेत जिल्लामा रहेका अस्पताल, स्वास्थ्य चौकीहरुलाई करिव ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको हो ।
प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, मेहेलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पतालसहित जिल्लाका ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकालाई ती सामग्री दिइने बताइएको छ ।
कोभिड—१९ का विरामीहरुको उपचारमा सहयोग पुगोस् भनेर महामन्त्री खड्कालगायत चौधरी ग्रुप र चिकित्सक संघले पनि सामग्री उपलव्ध गराएका छन् ।