कर्णालीमा ५५ प्रतिशत रोपाइ सकियो, धान उत्पादन बृद्धि हुने अनुमान


पंखबहादुर शाही
सुर्खेत,१५ असार (जागरण) ।
झण्डै ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कर्णालीमा असार १५ सम्म ५५ प्रतिशत क्षेत्रफल जमिनमा रोपाइ सकिएको छ ।
विगतमा यो समयसम्म आईपुग्दा निकै कम मात्रामा रोपाइ हुनेगरेपनि यो बर्ष समयमानै मनसुन सुरुभएपछि विगत भन्दा बढि जमिनमा रोपाइ सकिएको हो ।
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा ंसहकारी मन्त्रालयका अनुसार प्रदेशको कुल खेतियोग्य जमिन २५ लाख २५ हजार २७५ हेक्टर रहेको छ । त्यसमध्ये ४६ हजार ३२२ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जसमा सबै भन्दा धेरै सुर्खेत जिल्लामा १५ हजार २४० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
मनसुन चाँडै भित्रिएका कारण पनि विगतका बर्षभन्दा यो बर्ष रोपाइँ छिटो सुरू भएका छन् ।
आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाालीका अधिकांश ठाउँमा समेत रोपाइ आधा प्रतिशत सकिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार जुम्लामा ९० प्रतिशत भन्दा बढि रोपाइ सम्पन्न भइको छ भने सबैभन्दा कम सुर्खेतमा ३५ प्रतिशतको हाराहारीमा धान रोपाइ सकिएको छ ।
जुम्लामा अन्य जिल्लाको तुलनामा चाँडै रोपाइ गरिन्छ । यतिबेला जुम्लामा धानखेती गोडमेल गर्ने समय भएको छ ।
हुम्ला डोल्पा लगाएतका हिमाली जिल्लामा ७० देखि ८० प्रतिशतको हाराहारीमा धान रोपाइ भएका छन् भने अन्य जिल्ला रुकुम पश्चिम, दैलेख, जाजरकोट, सल्यान, कालिकोटमा ८० देखि ८५ प्रतिशतसम्म धान रोपिसकिएको छ ।
निर्देशनालयका निर्देशक तथा कृषि विज्ञ चित्रबहादुर रोकायले विगतको भन्दा यो बर्ष समयमै धान रोपाइ भएकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको कर्णाली रैबारलाई बताउनुभयो ।
कर्णालीमा गतबर्ष प्रतिहेक्टर ३ दशमलव ९६ प्रतिशत धान उत्पादन भएको थियो भने यो बर्ष वृद्धी हुने अपेक्षा गरिएको निर्देशक राेकायले बताउनुभयो ।
कर्णाली प्रदेशमा खासगरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ जातका धान लगाउने गरिन्छ । यी जातका धानको उत्पादन समेत बढी हुने गरेको छ ।