काठमाडौं, १८ असार (जागरण) । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले वरिष्कार गरेको नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ६ बुँदे प्रस्ताव पारित गर्दै सकिएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले बोल्नुभएको छ । एमाले विवादपछि बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतमसहित हरि पराजुली, गणेश पहाडी लगायत नेता उपस्थित भएको भट्टराईले बताउनुभयो ।
आजको बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष गौतमले सम्बोधन गरेका छन् । अन्य औपचारिक प्रस्ताव पारित भएको भट्टराईको भनाइ छ ।
बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट मृत्युबरण गर्नुहुने सबैप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुप्रप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रप्रति श्रदासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनर्स्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो ।
बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनेले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव समेत पारित गरेको छ ।
बैठकमा बोल्दै उपाध्यक्ष गौतमले अध्यक्ष ओलीलाई अब म तपाईंसँग आए फर्केर जान्न भनेर बताएको गौतमको भनाईलाई उद्धृत गर्दै भट्टराइले भन्नुभयो । अर्को बैठक भोली फेरी बस्ने भएको छ ।