सुर्खेत, २० असार (जागरण) । कर्णालीको फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजना डुबान क्षेत्रको मुअव्जा दररेट निर्धारण गरिएको छ ।
निर्माण कार्य सुरु भएको पाँच वर्षमा आयोजनाको काम सक्ने लक्ष्य लिएको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाले अधिग्रहण गर्ने डुवान क्षेत्रको जग्गाको मुअव्जा वितरणका लागि दररेट निर्धारण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला दररेट समितिले चार प्रकारको दररेट कायम हुने गरी मुअव्जा दिने निर्णय गरेको छ ।
आयोजनाले अधिग्रहण गर्ने बाँझो जग्गाको प्रतिबर्ग मिटर ६ सय, धान उत्पादन हुने खेतको मूल्य कालिकोट रास्कोट नगरपालिका क्षेत्रमा प्रति वर्ग मिटर १ हजार ३ सय कायम गरिएको छ ।
त्यस्तै पचालझरना गाउँपालिका १ को सिकु क्षेत्रमा धानबाली खेती हुने जग्गालाई प्रति वर्गमिटर १ एक हजार १ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, कर्णाली करिडोरसँग जोडिएको जग्गाको मुआब्जा प्रति वर्गमिटर १ हजार ८ सयका दरले वितरण गर्ने निर्णय गरिएको छ ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सबै सरोकारवाला नीकायहरुसँग छलफल गरि दररेट समितीले मुआब्जा निर्धारण गरेको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
नेपाल विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको फुकोट कर्णाली आयोजनाको ९२.३ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
आयोजनामा ४९ प्रतिशत स्थानीयको सेयर छ भने ५१ प्रतिशत नेपाल विद्युत् कम्पनीले व्यहोर्ने छ ।
निर्माण कार्य सुरु भएको पाँच वर्षमा आयोजना सक्ने लक्ष्य राखिएको आयोजनाका प्रमुख हिरामान वाइवाले बताउनुभयो ।
४ सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाका लागि करिब १५ सय रोपनी जग्गा अधिग्रहण हुने आयोजना प्रमुख वाइबाले बताउनुभयो ।
यसै आर्थिक वर्षमा जग्गा अधिग्रहणको काम पूरा हुने उनले जानकारी दिनुभयो । आयोजनाले सान्नी त्रिवेणी गाउँपालिका – ३ को सिस्नेमा ड्याम निर्माण गरेर सुरुङ मार्गमार्फत सान्नी त्रिवेणी गाउँपालिका – १ लुसामा विद्युत्गृह निर्माण गर्नेछ ।