मध्यपश्चिम विश्वविद्यालयका दुई जना उपप्राध्यापक बर्खास्त

पंखबहादुर शाही

सुर्खेत, २२ असार ।

शैक्षिक मर्यादाविपरीत काम गरेकाे भन्दै मध्यपश्चिम विश्वविद्यालयका दुईजना उपप्राध्यापकलाई बर्खास्त गरिएको छ।

ईञ्जिनियरिङ संकाय स्नातकोत्तरका कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो । यादवलाई आफुखुसी विद्यार्थीलाई नम्बर दिएको र पन्तलाई प्रश्नपत्र बाहिर्‍याएको आरोपमा बर्खास्त गरिएको उपकुलपती प्रा.डा नन्दबहादुर सिंहले बताउनुभयाे । मंगलबार  (आज) पत्रकार सम्मेलनगरी सिंहले भने ,‘उहाँहरुले शैक्षिक मर्यादा विपरीत अपराध गर्नुभयो । विद्यालयको शाख गिराउने काम गर्नुभयो । आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुसी नम्बर दिएको पाईएको थियो । छानविनबाट पुष्टि भएपछि बर्खास्त गरिएको हो।’ यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो। परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाईएको छ । उजुरी परेपछि छानविन समिति बनाईएको थियो । सो छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो । परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा सिंहलाई केही समयअघि मात्रै निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो । सिंहले उहाँहरुले अक्षम्य गल्ती गरेको भएर एउटा कमिटी बनाएर छानविन गरी निष्काशन गरिएको बताउनुभयाे।

उहाँका अनुसार यादव स्थायी हुन् भने पन्त करार सेवामा रहेका थिए । ‘पन्तलाई यसअघि पनि ३ महिनको लागि निलम्बन गरिएको थियाे’ उपकुलपति सिहले भन्नुभयाे, ‘कमिटीको निष्कर्षपछि सफाई मौका दिएर बर्खास्त गरेको हुँ ।’ पछिल्लो समय पनि पन्तले दुईटा पेपरको प्रश्न लिगेज गरेको देखिएको छ प्रयोगात्मक परीक्षा ४० पुणर्ाङ्कको हन्छ सहभागी १३ जना विद्यार्थीलाई सबै नम्बर दिएको पाइएको छ। कन्सट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा पनि विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बर दिइएको छ।’ विश्वविद्यालयलाई राजनीतिको थलोको रुपमा चिनिने गर्दछ । यसअघि पनि यस्ता खालका गतिविधि भएका थिए । यो सुरवात हो ।’  प्राध्यापकहरुलाई राजनीतिक दलहरुले संरक्षण गरिरहेको भन्दै सिंहले  यसलाई विश्वविद्यालयलाई सुर्धाने अभियान भन्नु भएकाे छ । हिजो जुन आधारमा विश्वविद्यालयलाई चलाईएको थियो । त्यो अनुसार म चलाउन दिन्न,’ सिंहले भन्नुभयाे ,‘ कानुनको आधारमा रहेर चलाउन मैले अभियान थालनी गरेको हुँ ।’ राजनीतिक दलहरु, विद्यार्थी संगठनहरुलाई म अनुरोध गर्दछु, अपराधिलाई संरक्षण गर्न आन्दोलन नगर्नुहोस ।’