सांसद खड्काद्वारा प्रदेश अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


सुर्खेत, २३ असार ।
कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १२ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको छ ।
खड्काले आफ्नो व्यक्तिगत पहलमा प्रदेश अस्पताललाई ३ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो । उक्त अक्सिजन कन्सन्ट्रेटर काठ्माण्डौँको स्वंसेवी कोर नेपाल नामक संस्थाले सहयोग गरेको सांसद खड्काले जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा.डम्बर खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सांसद खड्काले कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मनसायले समन्वय गरेको बताउनुभयो । महामारीले सबैलाई प्रभावित गरेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर त्यस बिरुद्ध प्रतिकार्य गर्नुपर्ने खड्काको भनाइ छ । सुर्खेतकी युवा सांसद खड्काले संसद देखि विभिन्न ठाउँमा सामाजिक विषयमा जोड दिँदै आउनुभएको छ । यस पटक पनि उहाँले आफै काठ्माण्डौँ पुगेर अक्सिजन कन्सटेट्रेटरका लागि समन्व्यगरी लिएर आउनु भएको हो । अस्पताल लगायतको जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मा सरकारको भएपनि महामारीका बेला सत्ता पक्ष प्रतिपक्ष नभनी सक्दो सहयोग गर्नु नागरिकको दायित्व भएको उहाँको भनाइ छ ।