जुम्ला, २५ असार (जागरण) । जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सात वटा पकेट क्षेत्र निर्धारण गरेको छ ।
एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन तथा सामूहिक खेती र कृषिलाई व्यावसायिक बनाउन गाउँपालिकाभित्र सातवटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।
स्थानीय उत्पादनलाई जोड दिँदै बाँझो जग्गामा पूर्ण खेती गर्ने र बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले पकेट क्षेत्र निर्धारण गरिएको उहाँले बताउनुभयो । फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातवटा पकेट क्षेत्रमा निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । गाउँपालिको सात वटै वडामा पकेट क्षेत्रमा पाँच हेक्टर जग्गा रहेको छ ।
फापर खेतीमा सात लाख ७० हजार, सिमीमा पाँच लाख ८५ हजार, कालीमार्सी धानका लागि ४८ लाख पाँच हजार, कागुनो चिनो पकेट क्षेत्रमा ४८ लाख पाँच हजार, ओखरखेतीमा पाँच लाख ८५ हजार र आलु पकेट क्षेत्रतिर ४८ लाख पाँच हजार रुपैयाँ बजेट छुट्याइएको उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो । यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लासँग सहकार्य गरी पातारासी–७ पट्मारामा भेडा पालन गरिएको छ ।
गाउँपालिकाले प्रत्येक वडामा सुहाउँदो बालीको पकेट क्षेत्र तोकेर उत्पादन बढाउने र बाँझो जग्गाको उपयोग गरी रोजगारी सिर्जना गर्ने चिनो कागुनो पकेट क्षेत्रका महादेव कृषि उत्पादन समूहका सचिव रेविका सुनारले बताउनुभयो ।
पकेट क्षेत्रको निर्धारणले त्यहाँको कृषि बालीको प्रवर्द्धन हुने विश्वास गरिएको छ । अहिले गाउँपालिकाले पनि स्थानीय उत्पादनबाट बनेको परिकार नै खाजा, नास्ताका रूपमा प्रयोग गर्न थालेपछि किसानमा पनि उत्साह थपिएको छ ।