सुर्खेत, २७ असार (जागरण) । कर्णाली प्रदेश सरकारले चिन र नेपालको सिमा क्षेत्र हुम्लाको लिमी, लाप्चाको विवाद उत्पन्न क्षेत्रमा चासो देखाएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको टोली चिनले सिमा मिचेको भनिएको क्षेत्रमा स्थलगत अनुगमन गरि वस्तुस्थिति बारे जानकारी लिएको हो । मुख्यमन्त्री शाहीसहित काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही, सांसद बिमला केसी लागायतको टोलीले आज त्यस क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
लिमीको लाप्चा, ललोङ्गजोम र हिल्सा क्षेत्रमा चिनले सिमा मिचेको जनगुनासोपछि सांसद जीवन बहादुर शाहीको टालीले गत बर्ष ११ दिनसम्म स्थलगत अध्यन गरि नेपाली काँग्रेस, प्रदेश सरकार र केन्द्र सरकारलाई सिमा मिचिएको प्रतिवेदन दिएको थियो । तर सरकारले भने सिमा नमिचिएको बताएको थियो ।
लामो समयपछि प्रदेश सरकारले त्यस क्षेत्रमा भनिएको सिमा विवादको विषयमा चासो देखाएको हो ।
शाहीको टोलीले चिन र नेपाल बिच विवाद सृजना भएको लिमीको लाप्चा, ललोङ्गजोम र हिल्सा, किट क्षेत्रमा रहेका सिमा स्तम्भहरूको आज अवलोकन गरेको हो ।
काँगे्रस नेता शाहीले ढिलै भएपनि प्रदेश सरकारको तर्फबाट आफ्नो क्षेत्र भित्रको भूमिको रक्षार्थ पहल शुरू भएको कर्णाली रैबारसँग प्रतिक्रिया दिनुभयो ।
अब यो मुद्दा केवल हुम्लाबासीको, नेपाली काँग्रेस विशेष नभएर सिंगो राष्ट्र र आम नेपाली नागरिकको पनि चासोको विषय भएको भन्दै अब विज्ञ टोली त्यहाँ खटाउनुपर्ने बताउनुभयो ।