कर्णाली प्रदेशमा बलत्कारका घटनाका उजुरी बढ्दै

सुर्खेत, २७ असार (जागरण) । कर्णाली प्रदेशमा बलत्कारका घटनाका उजुरी बढेको पाइएको छ । विगतमा अपेहलित हुने र प्रहरीसम्म जानुहुन्न भन्ने गरिएको भएपनि अहिले यस्ता घटनाहरुका उजुरी दिनेको संख्यामा वृद्धि भएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा हरेक वर्ष दुइ सय भन्दा बढि बलात्कारका घटनाका उजुरी दर्ता हुने गरेका छन ।
सबैभन्दा बढि घटना सुर्खेतमा हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरी एसएसपी अर्जुन चन्दकाअनुसार सुर्खेतमा चालु आर्थिक वर्षमा मात्रै ६७ वटा घटना दर्ता भएका छन् ।
सुर्खेतमा आर्थिक वर्ष ०७५–०७६ मा जवरजस्ती करणीका ६७ घटना भएका थिए । सोही वर्ष १९ वटा जर्बजस्ती करणी उद्योग अर्न्तगतका घटना घटेका थिए । यस्तै आर्थिक वर्ष २०७६–०७७ मा ८३ घटना घटेको उहाको भनाई छ ।
दैलेखमा चालु आर्थिक वर्षमा २५ र जाजरकोटमा १५ घटना भएका छन् । रुकुममा १३, सल्यानमा ३५, जुम्लामा ९, हुम्लामा १०, मुगुमा तीन र कालिकोटमा चार वटा घटना भएको प्रहरी तथ्याङ्कमा छ ।
आर्थिक वर्ष २०७५–०७६ मा १९० र २०७६–७७ मा १९९ घटना भएका छन् । चालु आर्थिक वर्षको हालसम्म १८७ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भइसकेको एसएसपी चन्दले बताउनुभयो ।
बलात्कारका घटना यसअघि कम दर्ता हुने गरेको भएपनि अहिले उजुरी दर्ता धेरै हुने गरेका उहाले बताउनुभयो ।
उहाले गाउँमा हुने यस्ता जघन्य अपराधका घटना लुकाउने प्रचलन अहिलेपनि रहिरहेको बताउँदै बलात्कारका विरुद्ध सबैको आवाज बुलन्द हुनुपर्नेमा जोड दिनुभयो ।